नेप्सेले गर्यो कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । अघिल्ला ३ कारोबार दिनमा लगातार ४५ अंकले घटेको नेप्से आज झिनो अंकले बढेको हो ।

बुधबार नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ बिन्दुमा पुगेको छ । सूचकमा झिनो सुधार आए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६५ करोडले घटेर ३ अर्ब ४० करोड रुपैयाँ सीमित भएको छ ।

आज ३०८ कम्पनीको ७२ लाख ९ हजार ७५७ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ६ समूहको परिसूचक बढेको छ भने ७ को घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.६२ प्रतिशतले बढेको छ भने व्यापार समूह १.३२ प्रतिशतले घटेको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको २० करोड २३ लाख रुपैयाँको २ लाख ८५ हजार ४० कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका मध्ये १३५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको घटेको छ ।

सामानय अंकले बढेको बजारमा नेपाल फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

त्यस्तै, समाज लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

मनकामना स्मार्ट लघुवित्तका सेयरधनीले भने सर्वाधिक ९.८८ प्रतिशत गुमाएका छन् ।