काठमाडौं । नेपालमा अहिले रेल छैन । तर, सबैभन्दा चर्चा रेलकै छ । हुँदै नभएको पूर्वाधारको किन यति धेरै चर्चा ?
किनकी वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सबैभन्दा बढी प्राथमिकताका साथ उठाएको पूर्वाधार नै रेल हो ।
उनले नेपालमा रेल कुदाएर देशलाई समृद्ध बनाउने सपना देखाएका छन् । यतिसम्म की यो सपना आफूले निद्रामा नभई जागै रहेको अवस्थामा देखेको भन्दै खै रेल भन्नेहरुलाई उडाउन समेत भ्याएका छन् ।
तर, जनताले शुक्रबार प्रधानमन्त्रीको अभिव्यक्तिलाई नै व्यंग्य बनाइदिए । नागढुगाबाट काठमाडौं छिर्ने एक मात्र सडक खण्ड नौबिसे- नागढुंगाबीचमा बिहीबार राती एक जना यात्रुको बसमै निधन भयो ।
रौतहट, गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल साहको बाटोमै निधन भएको हो । मृगौलाका बिरामी रहेका उनलाई उपचारका लागि सार्वजनिक बसमा काठमाडौं ल्याइदै थियो ।
एम्बुलेन्समा आउने रकम नभएपछि सार्वजनिक बस चढेका उनको सडक जामकै कारण निधन भएपछि शुक्रबार दिनभर केपी शर्मा ओलीको रेललाई जनताले व्यंग्य बाण गरिरहे ।
टाउको दुख्दा पनि सिंगापुर हानिने नेता जनताको संवेदनाप्रति कति उदासिन छन् भन्न एक उदाहरणका कारण शुक्रबार सामाजिक संजाल, संचारमाध्यम तथा चिया पसलमा समेत केपी ओलीको रेल चर्चामा रह्यो ।
आवश्यकता र प्राथमिकता नहेरी हचुवाका भरमा आयोजना घोषणा गर्ने प्रचलनलाई यो दृष्यले निकै मार्मिक प्रहार गरेको छ ।
यसलाई आगामी दिनमा सरकारले कसरी लिन्छ, त्यो भने हेर्न बाँकि छ । दशैंको मुखमा यात्रुको चाप राजमार्गमा बढ्नु स्वाभाविक हो ।
यसका लागि पूर्व तयारी गर्न नसक्नु, खाल्डाखुल्डी पुर्ने काम दशैं आउनु भन्दा अगाडी नै गर्न नसक्नु ठूला सवारी साधनका कारण साँघुरो सडकमा हुने जाम व्यवस्थापन गर्न नसक्नु, सवारी चालकलाई लेन अनुशासनमा राखी कडा कारवाही गर्न नसक्नु जस्ता कारणले हरेक दशैंमा यात्रुले विशाल ट्राफिक जामको सामना गरिरहनु परेको छ ।