कुमार न्यौपाने, न्युयोर्क
जुन २५ २०२१, झण्डै दिनको १२ बजे तिर बाहिर निस्किएँ । स्टेटन आइल्याण्ड मेरो नजरमा परेको निकै भएको थियो । न्युयोर्क सहर भित्र पर्ने पाँच बोरोहरु मध्ये एक । जुन अग्ला घरहरु, मोटरका ताँति, भिडभाड र कोलाहल भन्दा अलि परको प्रशस्त हरीयाली र पानीको जगेर्ना गर्न सकेको शान्त र रमणीय ठाँउ । म्यानह्याटनको दक्षिणी टुप्पो साउथ फेरी पुगेर फेरी टर्मीनल भित्र छिरी नि:शुल्क ३ तल्ले सुन्तले फेरी चढेर झण्डै १० माईल परतिरको जमिन टेक्दा अलि अर्के आनन्दको अनुभुति हुन्छ । त्यो सुन्दर, शान्त र आनन्दको अनुभुतिको कारण नै म यो सहरको त्यो भाग टेकिरहन मन पराउँछु । साढे ४ बर्षअघि मेरो मित्र दीपकले हामी परिवारलाई त्यही फेरी (जहाज) चढाउन ‘साउथ फेरी’ पुर्याएको सम्झन्छु र यो सबैको लागी निःशुल्क हो भन्दा अचम्म पनि मानिएको थियो । त्यस उप्रान्त त्यही फेरीमा म बारम्बार यात्रा गर्दैहुन्छु ।
न्युर्योकमा घरहरु नै निकै अग्ला छन । ९/११ आक्रमणपछि ती दुइ जुम्ल्याहा भवनहरुको सम्झनामा बनेको वन वर्ल्ड, ५४१ मिटर अग्लो छ र २०० मिटर भन्दा माथीका झण्डै १०० वटा घरहरु भएको सहरको अर्को भागमा रहेको १२२ मिटर मात्र अग्लो हिलको यात्रा गर्न मन लागेको चाँहि किन भन्ने प्रश्न उठ्ला । म्यानह्याटनका मरे हिल, सुगर हिल र लेनक्स हिललाई पनि अग्लो ठाँउ भन्ने बुझिन्छ । यिनीहरु भन्दा त निक्कै अग्लो लाग्ने त्यो हिलको पहिलो विशेषता भनेकै फ्लोरीडादेखि केप कोडसम्मको झण्डै १,४०० माइल लामो आन्द्रमहासागरीय अमेरीकी पुर्वीय तटको समथर भुभागको सबैभन्दा उच्च भाग हो । पृथ्वी कै टुप्पो ८८४८.८६ मिटर अग्लो सगरमाथा र संसारको ८००० मिटरभन्दा अग्ला ८ वटा हिमाल मेरो हो भन्ने देशको मान्छेलाई १२२ मिटर अग्लो थुम्कोले किन तान्यो झैं लाग्न सक्छ तर हजारौं कि मी. लामो तट कै अग्लो ठाँउको बिशेषता केही त होला भन्ने प्रमुख कारण थियो ।

यत्तिको जानकारी लिएर म त्यहाँ पुग्ने क्रममा स्टेटन आइल्याण्डको फेरी टर्मीनलमा ओर्लीएर टर्मीनलसंगै टाँसिएको बसपार्कबाट बस लिएर क्लोभ लेक पार्कको पारीपट्टि झरी भिक्ट्री बुलेभर्डको दक्षिण तर्फको केही उकालो रमणीय ‘टड हिल रोड’ हिड्दै थिएँ, एक्कासी पैदल यात्रु हिड्ने बाटो टुङ्गिएको ठाँउमा पुग्छु । मन झस्किन्छ । बाटो नै छैन कि क्या हो जस्तो । तै पनि हुर्रीएर आइसकियो यति टाढा, जानु त पर्ने नै छ । पैदल हिंड्ने सडक पेटी नहुँदा नहुदै नियम पेलेर मोटर गुड्ने बाटो छेउछेउ अलि पर पुग्छु र दाँयापट्टि टड हिल पुग्ने जंगली पैदल मार्ग भेट्टाउंछु । अधिकांश सल्लाका रुखहरु, लडेर सडेका मुढाहरु र केही झाडीको बाटो पछ्याउदै थिएं झस्याङ्ग पार्दै केही उफ्रेर कुद्यो अलि परसम्म । हतास्सिएर हेर्छु, बढेमानको बाह्रसींगे जरायो, सासै नफेरी एकटकले मलाई हेर्दैथ्यो । उसले मलाई हैन कि उसलाई चैं मैले पो तर्साएँ जस्तो । घडीमा मध्य दिनको १ बजेर २२ मिनेट गएको थियो । वेदर फोरकास्टले भन्दैथियो २ बजेदेखि लगातार ८०% पानी पर्नेछ । घरबाट हिँड्ने बेला नै पानी पर्छ भन्ने थाहा पाउँदा पाउँदै छाता वा रेनकोट नबोकि हिंड्नेलाई मुर्ख भन्नु ठिकै होला ।
एक खालको कौतुहलताले त्यो ठाँउमा पुर्याएको थियो, जंगली ट्रेलको यात्रा शुरु गर्न लागेको छु तर केही मिनेट पछिबाट लगातार पानी पर्दैछ । त्यसबेला केही अन्यौलको माहौल बन्यो, त्यो एकान्तमा नितान्त एक्लो छु । हाम्रो जस्तो ओत लिन मिल्ने चौतारो कतै हुन्न । मलाई त्यो पनि थाहा छ की यहाँका बस्तीहरुमा ओत लाग्ने खालका घरहरु हुन्नन । भै हाले पनि ओत लिन पाइन्न । गैरकानुनी रुपमा मेरो घर छेउछाउ कोही आयो वा घरको बलेसीतिर छिर्यो भन्ने आरोपमा पुलिस बोलाएर बुझाइदिन सक्छन । यस्ता ओत लिन नपाइने खतरनाक टोल बस्ती र यहाँको जंगलमा मेरो के हालत होला ? तर लाग्यो त्यस्तो मान्छेहरुका बस्तीहरु भन्दा म यही जंगल मै सुरक्षित छु । यही सोच्दै जे पर्ला उसैगरी टर्ला भन्दै क्यामेरा झिकि त्यो तर्साउने भुतरुपि जरायो (हेर्दा मनमोहक छ) को फोटो लिन खोज्दै थिएं, त्यो त लुसुलुसु अलि पर पुगीसकेछ । अब बिरालोको चालमा हिड्न थालें । जति पर पुग्दै थिएं उति धेरै मृग र जरायोहरु देखिन थाले । ठाडा ठाडा कान पार्दै सबै मै तिर हानौंला झैं हेर्दैथिए । यिनको बिशेषता, कि त चल्दै नचल्ने चलेपछि बुर्लुक्क उफ्रीएर एक कोश पर पुग्ने । एउटा राम्रो फोटो खिच्छु वा भिडियो बनाउँछु भन्दाभन्दै पानी छिट्याउन थाल्यो । अगाडि बढ्दै गर्दा जंगल भित्रका अन्य ट्रेलहरु पनि देखापर्न थाले । म हिड्नु पर्ने चाँही यल्लो ट्रेल थियो । हिड्दाहिड्दै अरु थुप्रै बाटाहरु देखापरे संगै अरु अन्यौलता पनि थपियो । कुन बाटो सही कुन बाटो गलत ? मधुरो प्रकाश, मधुरो इन्टरनेट र मधुरो बाटोहरु पछ्याउन पर्ने मेरो बाध्यता बन्यो । पानी पर्ने क्रम भने बढ्दै नै छ । म क्यामेरा सुरक्षित गर्ने मेलो गर्दै गुगलले देखाएबमोजिमको गोरेटो पछ्याउदै छु । बाटोमा रुखको ओत लिदै रुझेका जरायोहरु र म उस्तै गरी चिसीदै छौं । ठुलो र घना नभएपनि यो अनकन्टार जंगलमा एक्लै ओत खोज्दै हिंड्दा आफैलाई ए तँ के गर्दैछस ? भन्ने प्रश्न आइरह्यो । प्रश्न संगसंगै पाइला चल्दै गयो । एउटा सानो भन्ज्याङ्ग झरेर उक्लिदा अलि पर एउटा टहरो जस्तो देखियो । नभन्दै जंगलको बीचमा मै जस्तो अलपत्रेको लागि भनि बनाएको सेल्टर रहेछ । यसलाई के भन्ने ? यहाँको व्यबस्थापन गर्नेहरुको बुद्घि या मेरो भाग्य ? अगाडिपट्टि ५/७ वटा टेबल कुर्सी सहितको हरीयो चौर र एक व्यबस्थित टहरो, (सेल्टर) जसमा ५० जना जति बस्न मिल्ने टेबल कुर्सी र एक कुनामा ताल्चा मारीएको गोदाम कोठा । त्यसकै आडमा दुइ ओटा फिक्स्ड गरएका स्यानीटाइजरका बट्टाहरु ।
मलाई ढुङ्गा खोज्दा देउता भेट्टाएको उखान चरितार्थ भयो । त्राण मिल्यो, उल्का भै गयो । घरै पुग झैं भयो । मुसो चुटाईबाट जोगिएँ, क्यामेरा जोगियो, थकाइ मार्न पाएँ अनि केही लेख्न । अघिसम्म आफैंलाई मुर्ख मान्ने अब लाग्दैथियो खै म कसरी मर्ख हुँ ? जे होस, त्यो ओतले मलाई शक्ति थप्यो, भरपर्दो साथी पाए झैं लाग्यो । निकै बेर त्यहाँ बसें, यही जंगलको यहाँसम्मको यात्राको इतिबृति लेखें । पानी पराइको रफ्तार केही कम भयो । अब मलाई यल्लो ट्रेल पछ्याउदै रक हिल प्वाइन्ट पुग्नु छ । पानी कम हुन्छ, अगाडि जानु छ, अगाडिको बाटोको कल्पना गर्दैछु, बाटोमा यहाँको जस्तै मृगहरु, लोखर्के र चराचुरुङ्गीहरु भेटिने हुन कि अरु केही ! तर म ढुक्क छु यी दक्षिणी भेगका जंगलहरुमा ह्रिंसक जनावर भेट्टिदैनन ।
जब म शिवपुरी, नागार्जुन र फुलचोकीको जंगलहरु सम्झन्छु, एक प्रकारको भय उत्पन्न हुन्छ । ती जंगलहरु बाक्ला छन, घना छन र गहिरा खोचहरुले भरिएका र पहाडी भेगमा पाइने ह्रिंसक जंगली जनावरहरुको बासस्थान हुन । एकपल्ट बिष्णुमतिको मुहान खोज्दै बिष्णुपादुकादेखि माथिमाथि चढ्दै जाँदा भर्खरै हिंडेका चितुवाको पैतलाको डोवहरुले आज पनि जिउ सिरिङ्ग पार्छ । निकै बाक्लो हिउँ पर्दा शिवपुरीको खोंचहरुमा घण्टौं कुहिरोको काग हुनु पर्दाको क्षणले कति रोमान्चक र कति डर पैदा गराउँछ । यस्तै चुरेको जंगलमा लामा लामा पुच्छरवाला सेता लङ्गुरहरुले लखेटेको सम्झिदा यो जरायो र लोखर्के पाइने पातलो जंगल त केही हैन तर यी मेरा लागी नितान्त नौला थिए ।
पानी मत्थर हुँदै थियो । सेल्टरबाट निस्कीएँ। मलाई केही दुरीका रुखहरुमा छापिएको यल्लो ट्रेलको चिन्ह पछ्याउनु थियो । फुट ट्रेल लेखिएको अक्षर वा यल्लो चिन्हहरु । केहीबेर अबको बाटो र मोवाइल इन्टरनेटको ध्याउन्नमा कहिले रुखका चिन्हहरु छुटेछन । बाटो यही त होला भन्दा भन्दै निकै पर पुगेपछि बाटो साघँरिदै गयो, तब पक्का भयो कि मेरो बाटो फेर परिसकेछ । जति बाटो झाडिले छोप्दै गयो उति त्यहाँबाट बाँयातिर देखिने दृष्यले मन भने तान्दै थियो । क्यामेराको जुमले तानेर केही फोटो खिचें । सेतो दरवार जस्तो घर (जसलाई ह्वाइट हाउस पनि भनिदो रहेछ) ठुलो न ठुलो आँखाले भ्याउन्जेलको हरिया गल्फ कोर्सहरु । आहा, कसले कहिले बनाएका होलान ? ति कति शौखिन होलान? त्यो बेलाको मेरो मनका तरङ्गहरु यस्ता थिए । तर पछि टड हिलको बारेमा पढ्ने कोशिस गर्दा थाहा पाएँ कि हलिउड ब्लकबस्टर गड्फादर फिल्म बनेको ठाँउ रहेछ । घुम्दै गर्दा म सामान्य ठाँउमा घुम्दैछु भन्ने थियो तर जव ‘टड हिल’ अझ पढ्दै र बुझ्दै गएँ तब पो कताकता डर डर लाग्यो । बास्तवमा टड हिल जति आकर्षक छ, उज्यालो छ त्यसको इतिहास अलि अध्याँरो रहेछ । जर्मनहरुले स्थापित टड हिल बस्तिको टड नाउँको अर्थ मृत रहेछ । मृत पहाड जहाँ सन १७४० मा ठुलो चिहान बनाएका रहेछन, मोराभियन सिमेर्टी र अर्को यस बस्तिको क्रुर बास्तविकता चाहि न्युर्योकका नामी, बदनामी र खुँखार बोसहरुको बस्ति रहेछ । त्यही कारण पनि जानिफकारहरु भन्दारहेछन कि टड हिल बरपर बस्नेहरु साना घरमा बस्दैनन् र कहिल्यै गरिब हुदैनन् । तव त सांकेतिक रुपमा अल प्यासीनो अभिनीत गड्फादरको लोकेशन यहाँ रोजिएको रहेछ ।
म त्यो सेतो दरवारको क्षेत्र पार गर्दै अलि ओरालो हराउँदै गरेको बाटो छ कि भन्दै अगाडी बढ्दै थिएँ। अझै केहीपर पुगपछि बाटो निम्ठियो । अन्तिम उपाय थियो, त्यही गुगल बाजे । हेरें, बाटो छोडेर निकै तल पुगेको रहेछु । आएको बाटो फर्किनु भन्दा नजिकैको ट्रेल भेटेर बाटो तताउनु बेस थियो । पानीले भिजेको जंगल, झार बुट्टयान र काँडाको मार्ग अनि काँडाको धर्म नै घोच्नु हो, कोर्नु हो । म बाटो बिराएकोलाई किन माया गर्थ्यो, प्रशस्त राता धर्साहरु भए लुगाले नढाकेको ठाँउभरी, जिउका लुगा लगभग भिजे, जुत्ता लगभग भिज्यो, खुट्टाका औलाहरु पौडी खेल्न थाले, झोला, क्यामेरा उस्तै । अब बल्लबल्ल पत्ता लागेको बाटोमा न्यापकिन पेपरले क्यामेरा पुछ्दै अगाडी बढ्दै गएँ । त्यो भेग पुगेपछि पानी कम परेपनि साँझ धेरै पर्दै थियो, थकान बढ्दैथियो । प्रसस्तै शाखा (पंहेलो, निलो, हरियो, बैजनी र गुलावी ट्रेलहरु) बाटोहरु भएको त्यो ठाँउमा म जस्तो नौलो मान्छेको लागि गुगल म्याप गुरु समान नै थियो ।
शुरुमा आफु पुग्छु भनेर तोकेको गन्तव्य पुग्न अझै २५ मिनेटको बाटो देखाउँदै थियो । त्यहाँबाट फेरी जंगल बाहिरको मुल सडक पुग्न अझै कति पो समय लाग्ने हो । यतिसम्मको यात्रा भरी मान्छेको रुपमा म मात्रै छु । आफुले आफुलाई हेर्न पाएको छैन, अर्को मान्छेको अनुहार देखिएको छैन । सायद निरन्तर परीरहेको पानी र विक डे भएको कारण पनि म एक्लै कहानी कोर्दै थिएं घण्टौसम्म । फोनमा यथेष्ट व्याट्री र डेटा बिना यस्तो ट्रेलहरु हिड्ने गल्ती गर्नु हुदैन ।
बर्षिरहेको पानी, हराएको बाटो, जरायो, लोखर्के र बिभिन्न चराहरुको अल्मल्याइले मलाइ ढिलो ढिलो गर्दैथियो । अब मेरो गन्तव्य करीब नजिक नजिक भन्ने नक्शाले देखायो । उत्साहित थिएं । थुप्रै ट्रेलहरु छान्दै, छल्दै, पहिल्याउदै जव मेलै सोचेको ठाँउ नजिक पुगें, तब केहि सिमसारहरु देखापरे । कयौं झारहरुले सीमसार ढाकिएका थिए । सिमसारको छेउकुनाहरु अझै मधुरा र अध्याँरा थिए । घण्टौं हातमा झुण्डीएको गह््रौं क्यामेराले नाडी, औंलाहरुमा गहिरो थकान महसुस हुदै थियो । अगाडी बढ्दै गएं, मेरो २० पाइलाहरु फेरी उल्टो बाटो लागेछन । फर्किएर जब सहि बाटो लाग्न मोडिदै थिएं एक्कासी मेरा आखाँहरु अग्ला अग्ला सर्लक्क पारेर गाडिएका ढुङ्गाका ताँतीहरुमा परे । केहि पाइला अगाडी के बढेको थिए मेरो सामुन्ने अब हजारौ हजार मृत मानिसहरुका घरहरु थिए । आफ्नो गन्तब्य आइपुगेको खुशीमा उचालिएको मेरा कुमहरु सर्लक्क तल झरे । आँखाले त्यहि ठाँउ भन्दा अर्को ठाँउ हेर्न मान्दैनथ्यो । अघिको एकोहोरो मृग झैं म एकोहोरीएं । एक्कासी हलिवुडको जम्बी मुभीहरु दिमाग भरी घुम्न थाले । ति चिहानघारीबाट जुरुक्क उठेर हिडेका कंकालहरु सम्झीन पुगें । रुखहरुको पातहरुबाट झर्दै गरेका पानीका आवाजहरु, लोखर्केको कुदाईको आवाजहरु र ति सीमसारहरुबाट उडेका चराहरुको पखेटाका आवाजले कता कता तर्साउन थाल्यो ।
म कयौंपल्ट थाहै नपाइ चिहानघारीहरु हिडेको छु । थाहा पाउँदा पाउँदै हिड्नु र थाहा नपाइ हिड्नुमा आकाश जमिनको फरक छ । हिड्दा पनि मध्ये दिउसोको समय, सामान्य समय, मानिसहरुको बस्तीको नजिकै वा कोहि साथीहरुसंगै हुँदाको समय र यो नितान्त बेग्लै थियो । यस्तैमा मनमा बिभिन्न मनोभावना उव्जन थाले । यस्तो सीमसार नै सीमसारको बिचतिर यति ठुलो चिहानघारी कसरी ? यस्तो जंगलको बिचमा न कुनै सुचना, न कुनै होर्डिङ्ग ? के चिहानघारीको पनि बोर्ड राख्नुपर्ने थियो ? के फिल्ममा देखाइएको जस्तो भुतहरु हुन्छन ? डिस्कभरी च्यानलमा देखाइएको जस्तो सयौं बर्ष पुराना घरहरु हन्टेड हाउस नै हुन ? भनिन्छ बेलायतका बिभिन्न ठाँउहरुमा आज पनि हन्टेड हाउसहरु छन । ति घरहरु झुक्याएर बिक्रि गर्ने गरिन्छ रे । अमेरिकीहरुले पनि अनुसन्धानबाट पत्ता लगाइएको भनिएको सुपरनेचुरल पावरको विद्यमानता जस्ता कुराहरुले मन चिसो पार्दै थियो । त्यसबेला किन जान्ने भएर भुतका फिल्महरु हेरें, किन पढन्ते देखाउन चाख मानि मानि हन्टेड हाउसका कथाहरु, समाचारहरु पढें ? आज त्यही कुराले आफैलाइ छेउकुना खादै थियो ।
यसै बीच मनमा अर्को कुरा आयो । झण्डै ५ घण्टादेखि म नितान्त एक्लै नै छु । अब मैले यही ठाँउमा टुप्लुक्क कुनै मानिस भेट्नुको अर्थ के हुन्छ ? के त्यसलाइ सामान्य रुपमा लिन मिल्छ ? पक्कै मिल्दैन । यो अनकण्टार अध्यारो जंगलको भिजेको बाटोमा आफ्नै भिजेको जुत्ताको आवाज बीचमा म एक्लै ठिक छु । यत्रो समय एक्लै पारीसकेपछि करिब मलाई यो क्षेत्रबाट बाहिर निकालेपछि मात्रै अर्को मान्छेको दर्शन देउ भनि भगवानसंग प्रार्थना गर्न मन लाग्यो । म अर्को मान्छे स्वीकार्ने हविगतमा थिइन । पात पनि नहल्लिएको वातावरण साँच्चै थियो कि मेरो मनोदशा ! ति सिमसारका आडैमा बनाइएका काठका बेन्चहरुको रङ्गहरु अझ कालो देख्छु, अझ एकान्त हुदै गएको देख्छु । कालो ओड्ने ओडेर कोही बसिरहेको कल्पना गर्छु । बनको बाघले हैन मनको बाघले निल्न खोज्दै थियो ।
म बिरालोको चालमा एउटै ध्याउन्नमा हिड्न थालें कि कहिले यो भयानक ठाँउबाट पार पाउँ । मनको भावनाले होला कुनै फोटो खिच्न खोज्दा निस्कने आवाजले अझ नसताओस् । तैपनि अलि वर आएर हतार हतार केही फोटो क्लिक गर्छुं । अब अगाडि हिड्छु, एकोहोरो हिड्छु, बिशेष गरी कान बन्द गरेर लम्किन्छु जस्तो म सानो छँदा हेटौडाको घरदेखि अलि पर बुवाआमाले खोलातिर नजाओस भनि डर देखाउन ‘त्यहाँ भुत छ’ भनेको ठाँउमा साँझतिर पुग्दा आँखा, नाक, कान बन्द गरेर बुर्कुसी मारीन्थ्यो त्यस्तै त्यस्तै सोच्दै हिडेर अब निकै पर पुग्छु । मनको बेग निकै शान्त हुन्छ ।
नक्साले नजिकै एउटा ठुलो पोखरी देखाएको थियो । त्यसको नजिकै पुग्दा रुखमा झुण्ड्याइएको सुचनामा आँखा पुग्छ । यो ठाँउ उप्रान्त निजी सम्पति हो । यो भन्दा अगाडि जानको लागी समय तोकिए बमोजिम गर्नुहोला नत्र कानुन बमोजिम कारबाही हुनेछ । परेन फसाद् !
धन्न सुचनामा भने बमोजिम हिंड्न मिल्ने दिन मै पुगेको रहेछु ।
मन निकै हलुंगो भयो तर अझै कोही पनि मान्छे देख्दिन । केही दिनअघि मोटरबोट बोकेर आएको एउटा ट्रक, दुइवटा साइकलहरु, केही डोरीहरु मैले घण्टौंपछि देखेको चिजबस्तुहरु थिए । अब त्यो पोखरीको छेवैछेउ मोटर गुड्न मिल्ने ग्राभेल बाटाहरु छन । सफा पोखरीमा बाँधेर राखिएका केही डुङ्गाहरु थिए । लाग्यो निजी सम्पत्ति पनि यति ठुलो क्षेत्रमा फैलिएको ? ताल, तलाउ, डुङ्गाहरु, मोटर गाडी, चौरहरु, सडक नै सडक, मृगहरु चरिरहेका जंगल, रक क्लाइम्बिङ्ग गराउन बनाइएका कृतिम चट्टानहरु, गोदाम घरहरु, चोक र थुप्रै अन्य संरचनाहरु । कस्तो अचम्म ! निजी सम्पत्ति भित्रको भागमा हिड्न थालेको पनि १५/२० मिनेट भै सक्यो कोही मानिसको भेउ पाउँदिन । कस्तो ठाँउ हो यो ? मेरो यात्राको शुरुदेखिको अन्योलता यात्रा टुंगिदै गर्दासम्म पनि उत्तिकै कायम छ । हिड्दै गर्दा पछाडिबाट कसैले सुसेलेर वा कराएर अब उता बाटो छैन, जताबाट आएको हो उतै जा भन्यो भने मेरो के दशा हुने हो भन्ने ठुलो डरले खाँदै थियो । चिहानघारीमा आएको सोच जस्तै जसो तसो यहाँ पुगेको छु कुनै अर्को मानिसको उपस्थिति विना अब केहीबेर कोही मेरो सामुन्ने नपरुन ।
नभन्दै कोही मनुष्यको दर्शन बिना म त्यो निजी सम्पत्तिको मुल भागमा आइपुगें । ठुलो मुल गेट बन्द रहेछ । करिव ५ घण्टा ४५ मिनेटपछि त्यही गेटको पारीपट्टी घर भित्र छिर्दे गरेको एक जना मानिस देखें । सडक पारी गएर निजी सम्पत्तिलाई हेर्दा थाहा भयो त्यो विलीयम एच पौच व्वाय स्काउट क्याम्प रहेछ । ओर्वाक लेक सहितको हजारौं एकड जमीन सहितको निजी सम्पत्ति मालिकलाई पनि सम्झदै नजिकैको बस स्टेसन तिर हान्निएं । करिब १५ मिनेटको अर्को थकानपुर्ण हिडाइ पछिको यात्रालाइ बसको सिटले थचक्क बसायो । साउथ फेरीको डन्किन डोनटको कफीले आँत भर्ने काम गर्यो ।
टड हिलको ६ घण्टे लम्बेतान एक्लो यात्रालाई पर्गेल्दै गर्दा त्यो हेर्दा सुन्दर देखिने कुनै बेलाको मृत डाँडा पो रहेछ, त्यो भव्य महलहरु त बोसहरुको बस्ति पो रहेछ र सबैभन्दा ठुलो त चिहानघारी पो रहेछ । तर…
ती साँच्चै रोमान्चक र मन कुत्कुत्याउने खालका थिए ।