न्यूजिल्याण्ड नरसंहार पछि फेसबुकको लाइभ स्ट्रिमिङ नियम फेरियो, अब तत्काल लाइभ रोकिने

न्यूयोर्क
न्यूजिल्याण्डको मस्जिदमा गोली प्रहार भएको दुई महिना पश्चात फेसबुकले आफ्नो लाइभ स्ट्रिमिङ नियममा परिवर्तन ल्याएको छ । अब कसैले फेसबुकको ‘गम्भीर नीति’ उल्लंघन गरे तत्कालै लाइभ सुविधा प्रयोग गर्नमा रोक लगाउने जनाइएको हो । बुधबारबाट लागु नयाँ नियम अनुसार यस्तो प्रतिबन्ध साधारणतया ३० दिनको हुनेछ ।

फेसबुकले त्यस बाहेक नियमका सबै मापदण्डबारे भने प्रष्ट पारि सकेको छैन । तर, सामाजीक मूल्य विपरित कुनैपनि आतंककारी गतिविधीलाई सामाजिक सञ्जालमा स्थान नदिनेबारे भने कम्पनीले प्रष्ट पारको । आगामी सातामा यो नीतिलाई अन्य शिर्षकमा पनि विस्तार गर्ने र केही उग्र प्रचारका विज्ञापन लिन पनि रोक लगाउने जनाएको छ ।

यो नियम लागु भएको थियो भने क्रिष्टचर्चका बन्दुकधारीले फेसबुक लाईभ गर्दै गोली प्रहार गर्न नसक्ने कम्पनीका प्रवक्ताले सिएनएनलाई बताएका छन् । प्रार्थना गर्न भेला भएका मुस्लिम धर्मावलम्बी माथि फेसबुक लाइभ गर्दै एक बन्दुकधारीले अन्दाधुन्द गोली चलाउँदा ५० जनाको मृत्यु भएको थियो ।

न्यूजिल्याण्ड र फ्रान्सले ‘टेक’ कम्पनी र अन्य मुलुकलाई इन्टरनेट सञ्जालबाट उग्रबादी विचार प्रवाह रोक्न सहकार्यका लागि आह्वान गरे लगत्तै फेसबुकको यो नियम परिवर्तन भएको हो । न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्दा आर्डर्नले यस विषयमा आफुले फेसबुक सिइओ मार्क जुकरबर्गसँग दुई पटक कुरा गरेको समेत बताएकी छिन् ।