न्यूयोर्क
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आमसभा आयोजना गरि दोस्रो कार्यकालको प्रचार प्रसार थालेका छन् । मंगलबार साँझ फ्लोरिडाको ओर्लान्डोमा प्रथम महिला मलेनिया ट्रम्प एवं उपराष्ट्रपति माइक पेन्स दम्पती सहितको उपस्थितीमा ट्रम्पले २०२० मा आफुले दोस्रो कार्यकालका लागि चुनाव लड्ने घोषणा गरेका हुन् ।
ट्रम्पले चार बर्ष अघि राष्ट्रपतिका लागि उम्मेद्वारी घोषणा गर्दाका समान एजेन्डालाई नै अहिले पनि दोहोर्याएका छन् । आप्रवासी प्रतिको विष बमन, मिडिया माथिको तितो, प्रतिपक्षी डेमोक्र्याटलाई लान्छना मात्र नभइ पूर्व प्रतिद्वन्दी हिलारी क्लिन्टनलाई समेत कटाक्ष दोहोर्याउन मंगलबार ट्रम्पले भ्याए ।
यस्तै उनले आफ्ना नीतिका कारण मुलुकले खास गति लिएको दावी पटक पटक दोहोर्याएका थिए । बिशेष गरि कर कटौती कानून, नियमनमा खुकुलोपना, अर्थतन्त्रको बिस्तार लगायतका मुद्दामा उनले आफैंलाई जस दिएका थिए । तर, आगामी कार्यकालका लागि निर्वाचित भएमा नयाँ के गर्ने भने ठोस अफर भने उनले गरेनन् । चार बर्ष अघि सुरु गरेको नारा ‘मेक अमेरिका ग्रेट अगेन’ संसोधन गरेर ‘किप अमेरिका ग्रेट’ बनाइएको छ ।
‘हाम्रा राजनीतिक प्रतिद्वन्दीहरुले घृणायुक्त सोचका साथ हाम्रा मूल्य र मान्यतालाई धुलिसात गर्न एक पछि अर्को कसरत जारी राखेका छन्’ समर्थकहरुले खचाखच भरिएको सभाहलमा ट्रम्पले अहिलेसम्मका सबै सर्भेक्षणमा उनीभन्दा अघि देखिएका पूर्व उपराष्ट्रपति जो बाइडेनलाई उडाउँदै ‘स्लिपी जो’को उपमा दिएका थिए ।