पूर्ण मात्रामा खोप लगाएकालाई अमेरिकामा हवाई यात्रा सहज

GETTY IMAGES

न्यूयोर्क । अमेरिकाले बेलायत, यूरोपेली मुलक र अन्य देशका मानिसहरु सो मुलुकमा प्रवेश गर्न पाउनेगरी यात्रा प्रतिबन्ध खुकुलो पारेको छ। बीबीसीका अनुसार नोभेम्बरबाट पूर्णमात्रा खोप लगाएका विदेशी यात्रु कोभिड परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गरेमा अमेरिका जान पाउने भएका छन्। गतसाता ह्वाइटहाउसले प्रतिबन्ध नहटाइने बताएपनि त्यसमा सुधार गरिएको हो । कोभिड नियन्त्रणका लागि भन्दै १८ महिनाअघिदेखि त्यहाँ हवाईयात्राका कडा प्रतिबन्ध लगाइएको छ ।

यो कदमले अमेरिकाका युरोपेली साझेदारको एउटा मुख्य मागलाई सम्बोधन गरेको समेत जनाइएको छ । प्रतिबन्धका कारण टाढिएका साथी र नातेदारलाई पुर्नमिलन हुने बाटो खोल्ने बीबीसीको समाचारमा उल्लेख छ । सोमवार नयाँ नियमहरूको घोषणा गर्दै ह्वाइटहाउसका कोभिड संयोजक जेफ जिन्ट्सले यो अझ बलियो प्रणाली रहेको बताए।

नयाँ नियम देशका आधारमा भन्दा पनि व्यक्ति केन्द्रीत रहेको बताइएको छ । अमेरिकाका लागि उड्ने विदेशीहरू पूर्णमात्रा खोप लगाएका भएमा मुलुक हेरिने छैन । अमेरिकी प्रतिबन्ध सबैभन्दा पहिले सन् २०२० को सुरुतिर चीनबाट आउने यात्रुहरूमा लगाइएको थियो जुन पछि अन्य देशहरूका लागि विस्तार गर्दै लगियो।

हालको नियमले पछिल्लो १४ दिनभित्र यूके, कयौँ युरोपेली देशहरू, चीन, भारत, दक्षिण अफ्रिका, इरान र ब्राजिल पुगेका गैरअमेरिकी नागरिकलाई अमेरिका जान रोकिएको थियो। नयाँ नियम अनुसार विदेशी यात्रुहरूले उड्नुअगावै कोभिड नेगेटिभ आएको परीक्षणको नतिजा देखाउँदै आफ्ना सम्पर्क विवरण देखाउनुपर्नेछ तर क्वारिन्टिन भने बस्नुपर्ने छैन।

नयाँ नियम अमेरिकाले स्वीकृति दिएका मात्र वा सबै खोपहरूमा लागु हुने हो भन्ने स्पष्ट भइसकेको छैन। आस्ट्राजेनेका खोप अझै अमेरिकामा स्वीकृत भएको छैन। एउटा मात्र खोप लगाएका १२ देखि १८ वर्षबिचका मानिसहरूलाई प्रवेश समेत स्पष्ट भइसकेको छैन। पछिल्लो नियम क्यानाडा र मेक्सिकोको जमिनबाट अमेरिका छिर्नेको हकमा भने लागु नहुने बताइएको छ ।