पेट्रोलियम पदार्थ बिक्रेताको कमिशन बढ्यो, भार उपभोक्तामाथि

काठमाडौं । नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनबीच निगमका अधिकृत विक्रेताले पाउँदै आएको कमिशन बढाउने सहमति भएको छ । कमिशन बढेसँगै यसको भार भने उपभोक्ताले बोक्नु पर्ने भएको छ ।

निगम सञ्चालक समितिको निर्णयअनुसार अधिकृत विक्रेताले साविकमा पाइरहेको पेट्रोलको कमिशन तीन प्रतिशत र डिजलको कमिशन २‍.६५५ मा क्रमशः ०.३९५५ र ०.४७५ ले वृद्धि गरिने भएको छ ।

अब पेट्रोलमा ३.३९५५ र डिजलमा ३.१२५ कमिशन पुगेको छ । कमिशन वृद्धि गर्दा हुने मूल्य समायोजनअनुसार पेट्रोल र डिजलमा प्रतिलिटर औसत ३६ पैसाले थप हुनेछ। पेट्रोल र डिजलमा दिइआएको क्रमशः १० लिटर प्रति चार किलोलिटर र तीन लिटर प्रति चार किलोलिटर जर्ती समेत स्थगन गरिएको छ ।

यता, निगमले विक्रेताको प्राविधिक नोक्सानीको विस्तृत अध्ययन गर्न काठमाडौं विश्वविद्यालयको प्राविधिक विज्ञ टोलीलाई अनुरोध गरेको र सो कार्यलाई अघि बढाउन नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक एवं निगम सञ्चालक समितिका सदस्यले संयोजकत्व गर्ने गरी नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका दुई प्रतिनिधि एवं निगमका तर्फबाट समेत वरिष्ठ पदाधिकारी सदस्य रहने गरी एक उच्चस्तरीय कमिटी गठन गर्ने सहमति भएको छ ।