काठमाडौं । राजस्व छलेको आरोपमा पेप्सी उत्पादक कम्पनी वरुण वेभरेजविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले भ्याट छलीको मुद्दा दायर गरिएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दियो ।
झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर प्रयोग गरी ६४ करोड ९६ लाख २ हजार ३ सय ४० राजस्व चुहावट गरेको विभागले उल्लेख गरेको छ ।
विभागले उक्त कम्पनीबाट ६४ करोड ९६ लाख २ हजार ३ सय ४० रुपैयाँ विगो र विगोको दोब्बर गरी कूल १ अर्ब २९ करोड ९२ लाख ४ हजार ६ सय ८० जरिवाना माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
मुद्दामा ३ वर्ष कैद सजायसमेत माग गरिएको छ । विभागले वेभरेजका संचालक अमित गुप्तासहित ७ जनाविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको हो ।
वरुण वेभरेज प्रालिले राजश्व चुहावट गर्ने दूरासयले झुट्टा तथा नक्कली कर विजक जारी गरेको विभागले उल्लेख गरेको छ ।
यस मुद्दामा वेभरेजका वर्तमान तथा पूर्व सञ्चालक अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविणकुमार अग्रवाल, विनादेकुमार सिंह र अशोक कुमारलाई विपक्षी बनाइएको छ ।
कुनै पनि बहुराष्ट्रिय कम्पनीविरुद्ध राजस्व अनुसन्धान विभागले दर्ता गरेको यो सबैभन्दा ठूलो मुद्दा हो ।