पोखरा । प्रदेश २ को सिमरा र गण्डकी प्रदेशको पोखराबीच सिधा हवाईसेवा शुरु भएको छ । अब सिमरा हुँदै पोखरा जान सडक मार्ग वा काठमाडौं जानु पर्ने बाध्यता समेत हटेको छ । बुधबार गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्मा नेतृत्वको १८ जनाको टोली बुद्ध एयरको जहाजमार्फत सिमरा विमानस्थलमा अवतरण गरेको छ । बुद्ध एयरले पछिल्लो समय क्षेत्रिय गन्तब्यहरुलाई जोडिरहेको छ ।
यस उडानले आन्तरिक तथा भारतीय पर्यटकको आवागमन सहज बनाउने छ । खासगरी भारतबाट पोखरा आउने पर्यटकले सिधा उडान सेवा लिन सक्ने भएका हुन् । पोखराबाट आएको टोलीलाई प्रदेश नं २ का पर्यटनमन्त्री रामनरेश राय यादवले स्वागत गरे । यो रुटमा बुद्ध एयरले साताको आइतबार, बुधबार र शुक्रबार गरी तीन दिन दिउँसो सवा १ बजे उडान गर्ने भएको छ । सिमरा पोखराको टिकट दर बढीमा सात हजार एक सय ७० र कम्तीमा ४ हजार सात सय ७० तोकिएको छ ।