‘प्यान्डोरा पेपर्स’ खुलासामा विश्वका ठूला नेता को-को मुछिए ?

BBC

काठमाडौं । हालसम्मै ठूलो सङ्ख्यामा चुहिएका वित्तीय दस्तावेजहरूको अध्ययनले विश्व नेता, राजनितिज्ञ र अर्बपतिहरूका गोप्य धन तथा कारोबारबारे खुलासा गरेको छ। बीबीसीका अनुसार करिब ३५ वर्तमान र पूर्वनेता तथा ३०० भन्दा बढी सार्वजनिक अधिकारीका विवरण प्यान्डोरा पेपर्समा सार्वजनिक गरिएको छ । उनीहरुले देशबाहिर कर छल्ने हिसाबले स्थापना गरिएका अफशोर कम्पनीमा लगानी गरेको खुलेको हो ।

ती कागजपत्र अनुसार जोर्डनका राजाले यूके र अमेरिकाका सम्पत्तिबाट सात करोड पाउन्ड गोप्य रूपमा जम्मा गरेका छन् । बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयर र उनकी श्रीमतीले लन्डनस्थित कार्यालय खरिद गर्दा सम्पत्ति खरिदसम्बन्धी करबाट ३ लाख १२ हजार पाउन्ड जोगाएको देखिएको छ । उनीहरूले उक्त भवन खरिद गर्ने एउटा अफशोर कम्पनी नै किनेका थिए।

चुहिएका दस्तावेजहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्बन्ध मोनाकोमा रहेको गोप्य सम्पत्तिमा देखाएको छ । अनुसन्धानमा आईसीआईजेसँग सहकार्य गरेको खोज पत्रकारिता केन्द्र नेपालका अनुसार अफशोर कम्पनी खोलेर लगानी गर्नेहरूमा नेपालका पनि ठूला व्यापारिक घरानिया रहेका छन्।

चेक प्रधानमन्त्री आन्द्रे बाबिस दक्षिणी फ्रान्समा एक करोड २० लाख पाउन्ड बराबरका दुईवटा भिल्ला खरिद गर्न अफशोर लगानी कम्पनी प्रयोग गरेको तथ्य घोषणा नगरी बसेका थिए। यो हप्ता चेक गणतन्त्रमा हुने संसदीय चुनावलाई प्रभावित पार्न र आफूलाई बदनाम गर्न ती दाबी गरिएको उनको भनाइ छ।

चुहिएका ती दस्तावेजमा पाकिस्तानी प्रधानमन्त्री इमरान खाननिकट व्यक्तिका दशौँ लाख डलर सम्पत्ति रहेका गोप्य कम्पनी र कोषहरूमा स्वामित्व रहेको पाइएको छ। उनको मन्त्रिपरिषद्‌ र परिवारका सदस्यहरूको नाममा ती सम्पत्ति रहेको छ। त्यसबारे जबाफ दिँदै प्रधानमन्त्री खानले प्यान्डोरा पेपर्समा नाम रहेका सबै पाकिस्तानी नागरिकबारे आफ्नो सरकारले छानबिन गर्ने र कुनै गल्ती गरेको स्थापित भए कारबाही गरिने बताएका छन्।

उनले सम्भ्रान्तहरूले गलत ढङ्गलेु कमाएको सम्पत्तिसम्बन्धी रहस्योद्घाटनको स्वागत गरेका छन्। प्यान्डोरा पेपर्सले केन्याका राष्ट्रपति उहुरु केन्याटाले दशकौँसम्म अफशोर कम्पनीको सञ्जालमाथि गोप्य रूपमा आफ्नो स्वामित्व कायम राखेको देखाएको छ। एउटा सेअर र बन्डसम्बन्धी कम्पनीमा तीन करोड डलर लगानी गरिएको थियो। केन्याटा परिवारले कुनै प्रतिक्रिया दिएको छैन। यसअघि फिनसेन फाइल्स, द प्याराडाइज पेपर्स, द पानामा पेपर्स र लक्सलिक्स खुलासा भएका थिए।