प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न प्रधानमन्त्री दाङ जाँदै

काठमाडौं । २०७३ सालमा तत्कालिन प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न आज प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाने भएका छन् । दाङको देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उदघाटन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यहाँ उनले संसद विघटनबारे आफ्नो धारणा समेत राख्नेछन् । यो पुल राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी बनाइएको हो । यो पुलको लागत एक अर्ब रुपैयाँ रहेको छ ।

८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको यो पुल नेपालकै दोस्रो लामो हो । नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा रहेको हो । ‘गेरुवा पुल’को नामबाट चिनिने उक्त पुलको लम्बाइ भने १ हजार १५ मिटर रहेको छ । राप्ती पुल उदघाटनपछि प्रधानमन्त्रीले राप्ती गाउँपालिकाको लालमटियामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।