काठमाडौं । सरकारले भारतबाट थप २० लाख कोरोना खोप किन्ने निर्णय गरेको छ । यसका लागि प्रतिखोप ४ डलर खर्च गर्ने निर्णय समेत भएको छ । कोरोना खोपका लागि भारतीय कम्पनीलाई अग्रिम पैसा पठाउने निर्णय समेत सरकारले गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग खोप किन्न लागेको नेपाली संचारमाध्यमले जनाएका छन् ।
खोपका लागि रकम पठाउने निर्णय भइसकेको स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले बताएका छन् । यसअघि सरकारले सेरमसँग २० लाख डोज किन्ने निर्णय गरेको थियो। थप २० लाख डोज खोप ल्याउने निर्णय मंगलबार भएको छ । प्रतिखोपको चार डलरका दरले राष्ट्र बैंकमार्फत पैसा भारत पठाइने भएको छ ।
सेरमले काठमाडौंसम्म खोप ल्याइदिने भएको छ । अब ल्याउने २० लाख डोजले कम्तिमा १० लाख मानिसलाई खोप पुग्ने भएको छ । यो खोप जेष्ठ नागरिकलाई वितरण गरिने भएको छ । नेपालमा खोप भने निःशुल्क दिने सरकारको तयारी छ । खोप सरकार आफैले किन्ने छ ।