बुटवल । प्रदेश ५ सरकारले स्थायी राजधानी प्रस्तावित गरेको क्षेत्रमा अब जग्गाको कारोबार अनिश्चितकालका लागि बन्द भएको छ । सरकारले स्थायी राजधानीका रुपमा प्रस्ताव गरेको दाङको राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका वडा नं. ८ र ९ मा जग्गा कारोबार रोक्का भएको हो ।
यसअघि राजधानी बन्ने निर्णयसँगै चलखेल गरी जग्गाको भाउ आकासिने गरेको थियो । सोहीअनुसार अहिले बुटवलमा जग्गाको मूल्य आकासिएको छ । तर, बुटवलले स्थायी राजधानी नपाउने पक्का भएको छ ।
प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश ५ को राजधानी र्घाखाँचीको शीतगंगाको वडालाई समेत समेटेर दाङको भालुबाङमा स्थायी राजधानी बनाउने र नाम ‘लुम्बिनी’ राख्ने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरेको छ ।
प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव भरतमणि सुवेदीका अनुसार अर्को आदेश नभएसम्म ती क्षेत्रमा जग्गाको किनबेच र कित्ताकाट रोक्का गरिएको छ ।
मन्त्रिपरिषद बैठकले दाङ र अर्घाखाँचीका मालपोत कार्यालयलाई जग्गाको किनबेच र कित्ताकाट रोक्न पत्राचार गरिसकेको छ । राजधानी प्रस्तावित क्षेत्रमा जग्गाको अस्वाभाविक कारोबार बढ्ने भएकाले सो निर्णय गरिएको हो ।