प्रधानमन्त्रीले निवासबाटै १६५ टुक्रे सडक आयोजना शिलान्यास गर्दै

तस्वीर स्रोत : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १ सय ६५ वटा टुक्रे सडक आयोजनाको आफ्नो निवास वालुवाटारबाट शिलान्यास गर्ने भएका छन् । स्वीच थिचेर सडक आयोजनाको शिलान्यासको कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यी सडक आयोजना हरेक निर्वाचन क्षेत्रमा बन्ने भएका हुन् । यो चालु आर्थिक वर्षको बजेट अन्तर्गतकै कार्यक्रम हो । तर, आर्थिक वर्षको अन्त्यमा आएर मात्र सडक आयोजना शिलान्यासको चरणमा पुगेको हो ।

यो वर्ष सरकारले प्रत्येक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रम अन्तर्गत राखेको ३ अर्ब २० करोड बजेट यसमा खर्च हुने छ । तर, पूर्वतयारी नभई बजेटमा राखिएको यो आयोजनाबाट कहाँ कुन स्तरका सडक बन्नेछन् भन्ने चाँही टुंगो लागिसकेको छैन ।