काठमाडौं । नेपाल विद्युत् प्राधिकरण निर्माण थालेको ५० वटा चार्जिङ नेटवर्क क्रमिक रूपमा निर्माण सम्पन्न हुँदै गएका छन् । हालसम्म आधादर्जन चार्जिङ स्टेशन निर्माण सम्पन्न भएका छन् भने अन्य निर्माणाधीन अवस्थामा छन् ।
प्राधिकरणले काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेशन संचालनमा ल्याइसकेको छ । त्यस्तै, काठमाडौंको बल्खु र उपत्यकाबाहिर
चितवन बसपार्क, बर्दिवास, बनेपा, खुर्कोट जस्ता स्थानमा पनि निर्माणको काम सकिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले चिनियाँ कम्पनी वाङबाङ डिजिटल इनर्जीलाई निर्माणको जिम्मा दिएको थियो । अहिले धमाधम नेटवर्क निर्माणको काम भइरहेको छ ।
प्राधिकरणले निर्माण सुरू गरेको चार्जिङ स्टेशनमा ६० किलोवाट क्षमताको सीसीएस २.० गन भएको डीसी फास्ट र जीबी/टी गन भएको ६० किलोवाट क्षमताको डीसी फास्ट चार्जर नै राखिएको छ । साथै, २२ किलोवाट क्षमताको एसी चार्जर पनि उपलब्ध छ ।
जीबी/टी गन सुरूमा नै जडान भएको भए पनि सीसीएस २ गन भने केही दिनअघि मात्रै जडान भएको हो । रत्नपार्कमा रहेको चार्जिङ सेन्टरमा सीसीएस २ चार्जर जडान भएपछि प्राधिकरण चार्जिङ इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट प्रोजेक्टका प्रमुख सागरमणी ज्ञावालीले सबै किसिमका गाडी चार्ज गर्न सकिने जानकारी दिएका हुन् ।
ज्ञावालीले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘रत्नपार्कमा सीसीएस २ चार्जरमा डीसी चार्ज गर्न आउन सक्नुहुन्छ । त्यसको लागि केही काम गर्नुपर्छ ।’
ज्ञावालीका अनुसार गाडी चार्ज गर्न आउने मानिसले सबैभन्दा पहिला एप स्टोरबाट ‘एनइए चार्जर’ नामको एप डाउनलोड गरी आफ्नो एकाउन्ट बनाउनु पर्छ ।
एकाउन्ट बनाएपछि तपाईंले खल्ती एप चलाउन भएको छैन भने त्यसको पनि एप डाउन लोड गरी आफ्नो एकाउन्ट बनाउनु पर्छ । त्यही खल्ती एप मार्फत अहिलेलाई क्यूआर कोड स्क्यान गरेर चार्ज गरेको रकम भुक्तानी गर्नुपर्ने हुन्छ । अहिले खल्ती मात्रै जोडिएको भए पनि निकट भविष्यमा नै अन्य पेमेन्ट गेटवेहरू जोडिने छन् ।
साथै, ज्ञवालीले यो प्रक्रिया पूरा गरेपछि ४ जनाको नाम र मोबाइल नम्बर दिएका छन् । जसमा शिव अधिकारी ९८५११४२४४६, सजित पौडेल ९८४१२०१८२६, आशा खनाल ९८६५३६६७७० र दीपक लामिछाने ९८५१००१६९२ मा कल गरेर जान सकिने उल्लेख गरेका छन् ।