प्राधिकरणमा कुलमानका तीन वर्ष, उज्यालो नेपालको सपना साकार

काठमाडौं । नेपालीका लागि असम्भव जस्तै देखिएको लोडसेडिङ हटाएर नेपालीको मुहारमा खुसी ल्याउने कुशल प्रशासक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण सम्हालेको आज तीन वर्ष पुरा भएको छ ।

नेताहरुले नेपालीलाई धेरै लामो समयसम्म सपना मात्र देखाएर पुरा गर्न नसकेको काम कुलमानले कार्यभार सम्हालेको दुई महिना भित्रै सम्भव बनाएका थिए ।

उनलाई २९ भदौ २०७२ को मन्त्रीपरिषद् बैठकले कार्यकारी निर्देशकको भूमिका दिएको थियो । त्यसबेला सरकार प्रचण्डको नेतृत्वमा थियो ।

उर्जा मन्त्रीको भूमिकामा जनार्दन शर्मा (प्रभाकर) रहेका थिए । त्यसअगाडी उनी चिलिमे जलविद्युत कम्पनीमा प्रबन्ध सञ्चालक थिए ।

त्यहा घिसिङे सन्तोषजनक काम नगरेको भन्दै प्राधिकरणको तत्कालीन सञ्चालक समितिले फिर्ता बोलाएर उनलाई जगेडामा राखेको थियो ।

कतिसम्म भने उनलाई प्राधिकरणमा छुट्टे चेम्बरसमेत दिइएको थिएन् । तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्लेले पदबाट राजिनामा दिएपछि प्राधिकरणमा घिसिङ ल्याइएको थियो ।

त्यसपछि भने मुलुकले पछाडी फर्केर हेर्नु परेन । आज सबैभन्दा अब्बल प्रशासकका रुपमा उनले आफ्नो पहिचान स्थापित गरिदिएका छन् ।

देश लोडसेडिङ मुक्त बनेको छ । उनी धेरै मानिसले सम्मान गर्ने पात्र बनेका छन् । अब देशभित्र क्रमशः स्मार्ट यूग शुरु हुँदैछ ।

विद्यूतीय उपकरणको माग र प्रयोगले नेपालीको जनजीवन अझ सहज बनाउन उनले ठूलो योगदान यसबीचमा गरिसकेका छन् ।

अझ रमाइलो तथ्य तीन वर्ष अघिसम्म वार्षिक अर्बौं रुपैयाँ घाटामा चलिरहेको नेपाल विद्युत प्राधिकरण अब नाफामा गएको छ ।

चुवाहट नियन्त्रणमा ठूलो उपलब्धी प्राप्त भई यो संस्था सुशासनमा समेत अब्बल बन्दै गएको छ । नेतृत्व असल हुने हो भने परिवर्तन टाढा छैन भन्ने उदाहरण उनले प्राधिकरणमार्फत देखाइसकेका छन् ।

तीन वर्षअघि करिब ९ अर्ब रुपैयाँ घाटामा रहेको विद्युत प्राधिकरण अहिले ७ अर्ब २० करोड नाफामा रहेको छ।

कुलमानले आज दिउँसो पत्रकार सम्मेलन गरी आफ्नो तीन वर्षे कार्यकालको उपलब्धी सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।