फास्ट ट्रयाकका सुरुङ बनाउन २७ कम्पनीको प्रस्ताव

काठमाडौं । काठमाडौं तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत पर्ने सुरुङमार्गको निर्माणका लागि २७ कम्पनी इच्छुक देखिएका छ् । छोक्रेडाँडादेखि धेद्रे खोलासम्म सुरुङ बनाउन कुल २१ कम्पनीको बोलपत्र परेको छ । उता, धेद्रे खोलादेखि लेनडाँडासम्मका सुरुङमा २२ ओटा कम्पनी इच्छुक देखिएका छन् ।

त्यसमध्ये दुवैतर्फको काम गर्न १६ कम्पनी इच्छुक देखिएका हुन् । छोक्रेडाँडादेखि धेद्रे खोलासम्मको सुरुङमा मात्रै बोलपत्र राख्ने ५ ओटा र धेद्रे खोलादेखि लेनडाँडासम्मको सुरुङमा मात्रै बोलपत्र राख्ने ६ ओटा कम्पनी रहेका छन् ।

मुल्याङ्कन समितिले बोलपत्रको मुल्याङ्कनको कार्य पुरा गरी योग्य कम्पनीलाई सूचिकृत गर्ने भएको छ । ठेक्का नेपाली सेनाले लगाएको हो । यो आयोजनाको मूख्य ठेकेदार भने सेना हो । छोक्रेडाँडादेखि धेद्रे खोलासम्म ३ किलोमिटर लामो सुरुङ बनाउनु पर्ने भएको छ ।

धेद्रे खोलादेखि लेनडाँडासम्म दुई ठाउँमा गरी ३.१ किलोमिटर लामो सुरुङ बन्नेछ । सेनाले अहिले फास्ट ट्राकको सहज रहेको स्थानको काम गरिरहेको छ । प्राविधिक काममा भने अन्य कम्पनीमार्फत ठेक्का लगाउनु पर्ने छ ।