फेरी आन्दोलित बने उखु किसान, काठमाडौं आए अगुवा

काठमाडौं । चिनी मिलबाट पाउनु पर्ने करोडौं रुपैयाँको भुक्तानी नपाएका कृषक पुनः आन्दोलित बनेका छन् । गत वर्ष सरकार र उद्यमीबीच भएको सम्झौता अनुसार उखुको भुक्तानी नपाएका सर्लाहीका कृषक पुनः आन्दोलनका लागि काठमाडौं आइपुगेका हुन् ।

उखु किसान संघर्ष समिति सर्लाहीको अगुवाईमा कृषक काठमाडौं आइपुगेका हुन् । कृषकले आजबाट माइतीघरमा प्रदर्शन थाल्दैछन् । गत वर्ष यसै समयमा उद्योगमन्त्री लेखराज भट्टकै रोहवरमा कृषकलाई भुक्तानी दिने भनिएपनि सरकार त्यो सम्झौता कार्यान्वयन गर्नबाट चुकिरहेको छ ।

उखु किसान संघर्ष समितिका अनुसार कृषक काठमाडौंमा जम्मा भइसकेका छन् । यस पटक करीव एक हजार कृषक काठमाडौं आएका छन् । चिनी मिलबाट वषौंदेखि भुक्तानी नपाएर पीडित बनेका किसानलाई सरकारले समेत ठगिरहेको छ ।

उखु मिलसंग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्छ । सरकारी तथ्यांक अनुसार श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपयाँ उखु किसानलाई बुझाउन बाँकी छ ।

इन्दिरा र अन्नपूर्ण तथा श्रीराम सुगर मिलले किसनको बक्यौता तिर्न जग्गा बिक्रीको प्रस्ताव राखेका छन् ।