काठमाडौं । सरकारले बढ्दो संक्रमणका बीच काठमाडौंमा कडाई गर्ने संकेत गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको महामारी नियन्त्रणमा काठमाडौं उपत्यका पछि परेको भन्दै यसको संकेत गरेका छन् ।
सरकारका प्रवक्ता समेत रहेका ज्ञवालीले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा हरेकजसो राजनीतिक तथा सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं महामारीविरुद्धको लडाईमा भने पछि परेको स्पष्ट पारे ।
यसबाट सरकार काठमाडौंमा कुनै न कुनै प्रकारको कडाई गर्ने मुडमा रहेको स्पष्ट भएको छ । उनले खासगरी तराईका जिल्लामा कोरोना नियन्त्रणमा प्राप्त सफलताबाट काठमाडौंले पनि सिक्न सक्ने भन्दै ‘काठमाडौं अहिले भने आफै पछि परेको बताए ।
४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना भाइरस अनियन्त्रित बनेमा अवस्था भयावह हुने भन्दै उनले संक्रमितको संख्या बढ्दै गएमा स्वास्थ्य संरचनाले नधान्ने चेतावनी समेत दिए ।
धेरै हिसाबले देशलाई नमुना दिने, दृष्टान्त प्रस्तुत गर्ने जिल्ला वा राजधानी शहर भएको भन्दै उनले महामारीमा काठमाडौं चुकिरहेको उल्लेख गरे । काठमाडौंका जनता, जनप्रतिनिधि र संघ संस्थाले कोरोना महामारी नियन्त्रणमा बाँके, कपिलवस्तु, वीरगञ्जजस्ता ठाउँबाट सिक्नु पर्ने समेत उल्लेख गरे ।
ती जिल्लामा कोरोना फैलिएपछि तत्काल लकडाउन गरी व्यापक परीक्षण बढाइएको थियो । यसको फलस्वरुप तराईमा अब कोरोनाको डरलाग्दो रुप मथ्थर भइसकेको छ । ४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना भाइरस अनियन्त्रित बनेमा अवस्था भयावह हुने भन्दै उनले संक्रमितको संख्या बढ्दै गएमा स्वास्थ्य संरचनाले नधान्ने चेतावनी समेत दिए ।
अहिले ६० प्रतिशत संक्रमित काठमाडौंमा छन् । सोहीकारण गम्भीर प्रकृतिका बिरामीको संख्या समेत निरन्तर बढिरहेको छ । कोरोना महामारीलाई हल्का ढंगले लिन नहुने उनले उल्लेख गरे । उनले चाडबाड मनाउन घर जाने प्रवृत्तिका सम्बन्धमा समेत नेपालीलाई सचेत गराएका छन् । गाउँघरमा जेष्ठ नागरिक रहने र यात्राका क्रममा उहाँहरुमा जोखिम बढ्ने भन्दै उनले जेष्ठ नागरिकको सुरक्षालाई ध्यान दिन समेत आह्वान गरेका छन् ।