फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । पछिल्लो एक महिनायता तेस्रो पटक मूल्य वृद्धि भइसकेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेको छ । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने छ ।

पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २, २ रुपैयाँ बढाएको छ । नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १६ रुपैयाँ, डिजेल तथा मट्टितेलको ९९ रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य ७२ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८ सय ९३ अमेरिकी डलर कायम भएको छ । ग्यासको मूल्य भने १ हजार ४ सय रुपैयाँमा यथावत राखिएको छ ।

त्यस्तै आन्तरिक उडानमा खपत हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य भने प्रति किलोलिटर २५ अमेरिकी डलर वृद्धि गरिएको निगमले जनाएको छ । भारतबाट मूल्य बढेर आएपछि नेपालमा समेत बढाउनु परेको निगमको भनाई छ ।