बंगलादेशसँग नेपालले किनेको मल कोलकात्ता आयो, कार्गो रेलमा राखी नेपाल ल्याईंदै

काठमाडौं । नेपाल सरकारले बंगलादेशबाट खरिद गरेको युरिया मलमध्ये पहिलो खेप भारतको कोलकात्ता आइपुगेको छ । कृषि सामाग्री कम्पनी लिमिटेडका अनुसार यो मल आजबाट नेपाल ल्याउने प्रक्रिया शुरु हुने छ । बुधबार कार्गो रेलमा राखेर मल नेपाल तर्फ ल्याइने छ । नेपाली सिमानामा आइतबारसम्म मल आइपुग्ने बताइएको छ ।

पहिलो खेपमा बंगलादेशबाट २२ हजार ५ सय मेट्रिकटन मल आएको छ । सरकारले बंगलादेशबाट मल पहिँचोमा ल्याएर नेपालमा कृषकलाई वितरण गर्ने र बंगलादेशलाई तिर्ने प्रक्रिया अगाडी बढाएको थियो । तर, बंगलादेशले समेत नपत्याएपछि खरीद प्रक्रिया शुरु गरिएको थियो । सरकारले प्रक्रिया थालेको ६ महिनापछि बंगलादेशबाट मल नेपाल आउन लागेको हो ।

बंगलादेशसँग जीटुजी मोडलबाट मल खरिद गरिएको छ । कोलकात्ताबाट कार्गो रेलमा राखेर भैरहवा, विराटनगर र वीरगन्जस्थित गोदाममा मल आइपुग्ने छ । बंगलादेशसँग सरकारले ५० हजार मेट्रिक टन युरिया मल किनेको छ । बाँकी २७ हजार ५ सय मेटन मल १५ दिनपछि बंगलादेशको चटगाउँ पोर्ट नेपाल तर्फ लाग्ने छ ।