काठमाडौं । अमेरिका पठाउने प्रलोभनमा बंगलादेशबाट म्यानमारका रोहिंग्या शरणार्थीलाई नेपाल ल्याउने गिरोह पक्राउ परेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बंगालादेशमा शरणार्थी जीवन बिताइरहेका म्यानमारका रोहिंग्या शरणार्थीहरुलाई अमेरिका लैजाने भन्दै नेपाल ल्याएर मानव तस्करी गर्ने तीनजनालाई पक्राउ गरेको हो ।
नेपाली संचारमाध्यमहरुका अनुसार नेपाल हुँदै अमेरिका जान पाइन्छ भन्दै दलालले बंगलादेशबाट महिला र बालबालिकासहित १४ जनालाई काठमाडौं ल्याएका थिए । उनीहरुलाई गत शनिबार काठमाडौंको कपनस्थित प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो । ब्युरोले कपनस्थित राममन्दिर छेउ बस्ने सकिफ आलम र डल्लु बस्ने अजमत उल्लाहलाई शनिबार र कपनस्थित राम मन्दिर छेउ बस्ने नोरुल अमिनलाई सोमबार पक्राउ गरेको जनाइएको छ ।
उनीहरुले २ परिवारका १४ जना रोहिंग्या शरणार्थीलाई नेपाल भित्र्याएको पाइएृको छ । उनीहरुले रोहिंग्या शरणार्थीहरुलाई नेपालबाट अमेरिका लगायतका युरोपेली देश जान सकिने भन्दै नेपाल ल्याउने गरेको खुलेको हो । नेपाल पुगेपछि अमेरिका जाने परिचचय पत्र पाइने भन्दै पुरुषलाई मासिक ५ हजार ७ सय ५०, महिलाले ३ हजार ७ सय ५० र बाबालबालिकालाई २ हजार ७ सय ५० रुपैयाँ भत्ता समेत पाउने बताएका थिए ।
बंगालादेशको ढाकादेखि भारतको बाटो हुँदै नेपालसम्म मानव तस्करी गरेको खुलेको छ । उनीहरुले शरणार्थीबाट समेत प्रतिव्यक्ती साढे तीन लाख रुपैयाँ असुली समेत गरेका थिए । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको समेत समाचारमा जनाइएको छ ।