बढ्दैछन् कोरोना संक्रमित, तर लकडाउन तोड्ने उत्तिकै

काठमाडौं । नेपालमा काठमाडौं उपत्यकासहित देशभर कोरोनाको संक्रमण निरन्तर बढिरहेको छ ।

पछिल्लो २ दिनमा ५ जना थप संक्रमित बढे । तीन जना उच्च जोखिममा रहेका छन् । उनीहरुको परिक्षण जारी रहेको छ ।

तर, यसले काठमाडौंबासीलाई कुनै मतलव नभएको जस्तो भान हुन्छ ।

किनकी साँझ परेपछि तरकारी किन्ने बाहना र बिहान मर्निग वाकमा जाने बाहनामा हजारौं मानिस सडकमा निस्कन्छन् ।

सोमबार मात्र लकडाउन उल्लङ्घन गर्ने ७७५ महिलासहित दुई हजार ९९३ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार यो संख्या सोमबार बिहान ६ बजेदेखि साँझ ५ बजेसम्मको मात्र हो । उनीहरुलाई तीन घण्टा कोरोना भाइरसबारे प्रशिक्षण दिएर प्रहरीले छाड्ने गरेको छ ।

प्रहरीका अनुसार काठमाण्डौबाट दुई हजार ३६३, ललितपुरबाट ६१० र भक्तपुरबाट २० जना प्रहरीको नियन्त्रणमा परेका हुन् ।

आइतबार २१४ वटा दुई पाङ्ग्रे र ७ वटा चारपाङग्रे गरी २२१ वटा सवारी साधन समेत कारवाहीमा परेका छन् । सरकारले लकडाउन घोषणा गरेको छ ।

यसबेला अतिआवश्यक काम नपरेसम्म बाहिर नजान सरकारले आह्वान गरेको छ ।