वासिंटन डिसी । अमेरिकामा हुलाकबाट हुने मतदानलाई सहज गराउने गरि आएको चुनावसम्बन्धी नयाँ नियम ल्याउने राष्ट्रपति जो बाइडेनको प्रयास असफल भएको छ । बीबीसीका अनुसार रिपब्लिकनहरूले राष्ट्रपति जो बाइडनको प्राथमिकतामा परेको चुनावसम्बन्धी नयाँ नियम लागु गर्ने प्रयास विफल पारेका हुन् ।
हुलाकबाट गरिने मतदानलाई सहज बनाउने नीति सो विधेयकमा थियो । दलीय आधारमा मत विभाजन हुँदा पक्ष र विपक्षमा समान ५०, ५० मत खसेसँगै यो प्रयास असफल भएको हो । बाइडेनले यो विधेयकलाई आफ्नो राष्ट्रपतीय कार्यकालको लडाइ मान्छन् । विधेयकको पक्षमा वकालत गरिरहेकाहरूले त्यसले सन् १९६५ को मतदान अधिकारसम्बन्धी ऐन यताकै सबैभन्दा दीर्घकालीन प्रभाव पार्ने रहेको बताएका छन् ।
मत विभाजनतर्फ १०० सदस्य सिनेटमा अधिकांश कानुनका प्रस्ताव अघि बढ्न ६० मत आवश्यक पर्छ र माथिल्लो सदनमा दुई दलबीचको विभाजन ५०, ५० रहेको छ। चुनाव सुधारका लागि ह्वाइट हाउसबाट जिम्मेवारी पाएकी उपराष्ट्रपति कमला ह्यारिसले विधेयक विफल हुँदा बैठकको अध्यक्षता गरिरहेकी थिइन्। उनले लडाइ अझै नसकिएको प्रतिक्रिया दिएकी छिन् ।
चुनावको दिन अगावै गरिने मतदानलाई विस्तार गर्ने बाहेक उक्त कानुनले चुनावी अभियानमा दिइएका चन्दा सहितका योगदानलाई थप पारदर्शी बनाउन र निर्वाचन क्षेत्र निर्धारण गर्दा दलीय प्रभाव कम हुने कुरा सुनिश्चित गर्ने डेमोक्र्याटहरुको विश्वास छ ।