बाइडेन-ह्यारिसको जितपछि अमेरिकामा उत्सव, संसारभरबाट बधाई

न्यूयोर्क

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमा डेमोक्रेटिक प्रत्याशीहरु जो बाइडेन र कमला ह्यारिस निर्वाचित भएपछि देशभर उत्सव सुरु भएको छ । सबै राज्यमा समर्थक सडकमा उत्रिएर विजयोत्सव मनाउन थालेका हुन् ।

डेमोक्र्याटहरुले ट्रम्प पराजयसँगै अमेरिकामा घृणा र विभाजनको राजनीति अन्त्य भएको बताएका छन् । बाइडेन र ह्यारिस लेखिएको संकेत हातमा लिएर एवं कोरोना भाइरस संक्रमणबाट जोगिन मास्क लगाएर सहित उनीहरु सडकमा निस्किएका छन् । कतिपयले स-साना छोरा छोरी पनि लिएर आएका छन् । टेलिभिजनहरुलाई प्रतिकृया दिँदै आफ्ना बालबालीकालाई यो ‌ऐतिहासिक क्षणको साक्षी बनाउन साथ ल्याएको उनीहरुले बताएका छन् ।

वासिंटन डिसी स्थित ह्वाइट हाउस बाहिर बाइडेन-ह्यारिस जितको उत्वव मनाउन भेला भएका सर्वसाधारण। तस्वीरः एरिक बरादात/एएफपी (साभारः द एट्लान्टिक)

ठूला अमेरिकी शहरहरु न्यूयोर्क, सिकागो, लस एन्जलस, वासिंटन डिसी लगायत सबै स्थानमा डेमोक्रेटिक उम्मेद्वारको विजय उत्सव मनाइएको छ । बाइडेनको ह्वाइट हाउस यात्रा निश्चित गरेको पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया शहरमा पनि ठूलो संख्यामा समर्थकहरु सडकमा निस्किएका छन् ।

भर्जिनियास्थित ट्रम्प नेशनल गल्फ कोर्स बाहिर प्रदर्शन गर्दै बाइडेन समर्थक। शनिबार ट्रम्प यहाँ गल्फ खेल्न पुगेका थिए । तस्वीर स्टिभ हेल्वर/एपी फोटो

नव निर्वाचित उपराष्ट्रपति ह्यारिसको जन्मस्थल क्यालिफोर्नियाको ओकल्याण्य लगायत राज्यका विभिन्न शहरमा विजयोत्सव निकालिएका छन् । बाइडेन र ह्यारिसले भने शनिबार साँझ ८ बजे डेलावरबाट देशका नाममा सम्बोधन गर्ने भएका छन् ।

संसारभरको बधाई

यस्तै बाइडेन र ह्यारिसको जितप्रति संसारभरका नेताले बधाई संदेश जारी गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जर्मन चान्सलर एन्जेला मर्केल, क्यानडेली प्रधानमन्त्री जष्टिन ट्रुडो, फ्रान्सेली राष्ट्रपति एम्मानुएल म्याक्रोन लगायत विश्वका प्रमुख नेताहरुले नव निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई बधाई ज्ञापन गरेका हुन् । ट्रम्पले पराजय स्वीकार्नु अघिनै बाइडेनलाई बधाई दिएर उनीहरुले निर्वाचन परिणाम प्रति ऐक्यवद्धता समेत जनाएका छन् ।

मिडियाहरुले बाइडेन राष्ट्रपति निर्वाचित भएको घोषणा गरेको एक घण्टापछि राष्ट्रपति डोनाल्ड ट्रम्प भने भर्जिनिया स्थित उनको गल्फकोर्समा देखिएका थिए । शनिबार बिहानै आफुले चुनाव जितेको झूठो दावी दोहोर्याएर ट्विट गरेका उनको आज कुनै सार्वजनिक कार्यक्रम छैन । चुनावमा धाँदली भएको दावी गरेपनि ट्रम्पले कुनै तथ्य सार्वजनिक गर्न सकेका छैनन् । शनिबार साँझ आफुले सात करोड १० लाख ‘वैध’ भोट पाएर रेकर्ड बनाएको भन्दै अर्को ट्विट गरेका छन् । लगातार झूठो ट्विट गरेपछि ट्विटरले शनिबार मात्र ट्रम्पका तीनवटा ट्विटमा चेतावनीको चिन्ह राखिदिएको छ ।

न्यूयोर्कको टाइम्स स्वायरमा छोरा सहित उत्सवमा सहभागि महिला । तस्वीरः केना बेटान्कुर/एएफपी

ट्रम्पले निर्वाचन परिणाम स्वीकार नगरेको कारण मिट रोम्नी बाहेक अरु कुनै पनि रिपब्लिकन सिनेटरले बाइडेन र ह्यारिसलाई शनिबार साँझसम्म बधाई दिएका छैनन् । उनीहरु कहिलेसम्म ट्रम्प निर्णय पर्खेर बस्लान् भन्ने चाहिँ चासोको विषय बनेको छ ।

वासिंटन डिसी स्थित ब्ल्याक लाइभ म्याटर प्लाजाको प्रदर्शन, तस्वीरः एलेक्स ब्रान्डन/एपी फोटो