बालुवाटारको घेराबाट सरकार चलाएका प्रधानमन्त्री पार्टी फुटाएपछि देशदौडाहामा

काठमाडौं । करीव साढे दुई वर्षसम्म सरकार संचालनका दौरान वालुवाटार भित्रको चौघेरामा बसेका प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन र पार्टी फुटाएपछि भने देश दौडाहामा निस्कने भएका छन् । यसअघि कोरोना महामारीको कारण देखाउँदै उनी पार्टी कार्यालय जान समेत आनाकानी गर्थे ।

प्रधानमन्त्रीका रुपमा सिंहदरवार नटेकेको धेरै भइसकेको छ । ओली पार्टीको कार्यक्रममा सहभागी हुन आज धनगढी जान लागेका हुन् । नेकपाको ओली पक्षीय सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन ओली धनगढी जान लागेका हुन्।

सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीको खुल्लामञ्चमा दिउँसो १२ बजे जनसभा आयोजना गरेको छ। पार्टी फुटाएपछि भने ओली एकाएक बाह्य कार्यक्रममा सक्रिय बनेका छन् । शुक्रबारको कार्यक्रम तयारी गर्न संघीय सरकारका चार मन्त्री चार दिनअघि नै धनगढी गएका छन्।

ओली समूहका सुदूरपश्चिम संयोजक एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, वन मन्त्री प्रेम आले, श्रममन्त्री गौरीशंकर चौधरी र सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना सुदुरपश्चिममै रहेका छन् ।