बालुवाटारमा प्रधानमन्त्री निवासका लागि तयार भयो अत्याधुनिक भवन, आज वास्तु पूजा

Gorakhapatra

काठमाडौं । बालुवाटारमा रहेको प्रधानमन्त्रीको सरकारी निवासमा नयाँ संरचना निर्माणको काम सम्पन्न भएको छ । कुल ४० करोड रुपैयाँ लागतमा नयाँ संरचना बनेको हो । अत्याधुनिक सेवा सुविधा सम्पन्न निवासमा बङ्करसमेत राखिएको छ । सोमबार विशेष वास्तु पूजा गरी प्रधानमन्त्रीको निजी निवास नवनिर्मित भवनमा स्थानान्तरण हुने प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

बालुवाटारमा रहेको पुरानो संरचनालाई भत्काएर दुईवटा भवन निर्माण गरिएको हो । एउटा भवन प्रधानमन्त्रीको निजी निवासका लागि र अर्को सार्वजनिक भवनमा प्रयोग हुने छ । सहरी विकास मन्त्रालयअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले भवन बनाएको हो । वास्तु पूजा भइसकेपछि प्रधानमन्त्री नयाँ भवनमा सर्नेछन् । दुवै भवन तीन\तीन तलाका छन् ।

दुईवटै भवनमा लिफ्ट प्रणाली जडान गरिएको छ । पञ्चायतकालमा निर्माण गरिएको अहिलेको प्रधानमन्त्री निवासमा भूकम्पले क्षति पु¥याएको तथा क्षेत्रफल पनि साँघुरो भएकाले नयाँ भवन निर्माण गर्नुपरेको बताइएको छ । एक रोपनी क्षेत्रफलमा फैलिएको सो भवनको भुइँतलामा विभिन्न प्रयोजनका लागि १० वटा युनिट निर्माण गरिएका छन् ।

पहिलो तलामा मुुख्य शयन कक्ष, परिवारका लागि अर्को शयन कक्ष, पारिवारिक कोठा, प्रधानमन्त्रीको अध्ययन कक्ष, पूजा कोठा, होम थिएटर, लबी, जिम हल, बाल्कोनीसहित १५ युनिट निर्माण गरिएका छन् । दोस्रो तलामा अति विशिष्ट पाहुनाका लागि तीनवटा शयन कक्ष, उहाँहरूको सुरक्षाकर्मीका लागि कक्ष, पाहुनाका सहयोगीका लागि कोठा, डाइनिङ र किचन र लबिसहित ११ युनिट निर्माण गरिएका छन् ।