काठमाडौं । सरकारले ५ जेठसम्म लकडाउन थपेको छ । यसअवधिमा मानिसहरुको आवतजावत ठप्प रहनेछ ।
तर, अत्यावश्यक क्षेत्रका उद्योग, बैंक तथा वित्तीय संस्था तथा निर्माणका काम भने अब सूचारु हुने भएका छन् ।
यस अनुसार अब लकडाउन केही खुकुलो भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार अब सुरक्षा विधि अपनाएर विभिन्न ४४ प्रकारका उद्योगहरु संचालन गर्न सकिने निर्णय भएको छ ।
औषधिजन्य वस्तुको उत्पादन, विक्री वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्री वितरण, निर्माणजन्य सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन अब सूचारु गर्न सकिने भएको छ ।
कृषिजन्य वस्तु उत्पादन र विक्री वितरण समेत सहज बनाइएको छ । यसका लागि स्थानीय तहले अनुमति दिन सक्ने भएका छन् ।
कृषि तथा पशुपंक्षीसम्बन्धी, खाद्यवस्तु र अन्य बाली लगाउने भित्र्याउने कामसमेत प्रभावित हुने छैन । फलफूल र दुग्ध जन्य वस्तुको उत्पादन र विक्री वितरण समेत सहज बनाइएको छ ।
स्वास्थ्य सेवा, भेटेनरी सञ्चालन र पाठ्यपुस्तक विक्री गर्ने पसल तथा ढुवानी गर्ने सवारी साधन समेत जनक शिक्षा सामग्रीबाट अनुमति लिएर चलाउन पाइने भएको छ ।
राष्ट्रिय गौरवका आयोजना सूचारु हुने भएका छन् । जलविद्युत, खानेपानी, विमानस्थल निर्माणका काम पनि शुरु गर्ने निर्णय भएको छ ।
श्रमिकलाई काममा लगाउनु अगाडी दैनिक श्रमिकरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने, एकै ठाउँमा बास बस्ने व्यवस्था मिलाउने सर्त भने सरकारको छ ।
गिट्टी बालुवा उत्पादन गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्थामा बढीमा एक तिहाइ कर्मचारी राखेर सेवा सूचारु गर्न सकिने भएको छ ।
सार्वजनिक सेवाका क्षेत्रहरुमा एकचौथाई सवारीलाई मात्र पास उपलब्ध हुने भएको छ । श्रमिकहरु स्थानीयसँगको सम्पर्कमा भने जान पाने छैनन् ।
खाजाको व्यवस्था कम्पनी आफैले गर्नुपर्ने छ। इन्टरनेट, वर्कसप समेत खुल्न सक्नेछन् ।
शैक्षिक संस्था, गैर खाद्यवस्तु विक्री गर्ने व्यवसायिक मल, सिनेमा घर, धार्मिक स्थल, होटल बार तथा रेष्टुरेण्ट, सैलुन जस्ता क्षेत्र भने खोल्न पाइने छैन ।
यी हुन खोल्न सकिने उद्योग
- खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योग
- दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग
- औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योग
- खानेपानी उत्पादन गर्ने उद्योग
- इँटा उद्योग
- पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
- खाने तेल तथा घ्यू उद्योग
- चिनी उद्योग
- चिया प्रशोधन उद्योग
- एलपीजी ग्याँस उद्योग
- प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग
- कफि उद्योग
- पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
- नूडल्स तथा तयारी चाउचाउ उद्योग
- मसला उद्योग
- अलैंची र अदुवा प्रशोधन उद्योग
- कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
- धान चामल र चिउरा उद्योग
- दाल उद्योग
- पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग
- खानी तथा खनिजजन्य उद्योग
- बालुवा प्रशोधन तथा क्रसर उद्योग
- सिमेण्ट उद्योग
- आइरन तथा स्टिलउद्योग
- पेन्टिङ्गस उद्योग
- जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग
- बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग
- जुुस तथा हल्का पेयपदार्थ उद्योग
- प्लाइउड र भेनिर उद्योग
- विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योग
- जस्ता पाता उद्योग
- हेभी मेशीनरी औजार मर्मत संभार
- खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)
- समिल र काष्ठ उद्योग
- आल्मुनियम उद्योग
- ग्रील उद्योग
- फोहोर मैला संकलन तथा प्रशोधन उद्योग
- ढुवानी तथा कार्गो सेवा उद्योग
- मेसिन पार्टपूर्जा वर्कसप उद्योग
- मोटर ग्यारेज वर्कसप उद्योग
- छापाखाना तथा प्रेस सम्बन्धी उद्योग
- सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग
- विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग
- औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग