बैंकका ऋणीलाई राहत, असारसम्म कालोसूचीमा राख्न नपाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेका ऋणीले आगामी असार मसान्तसम्म छूट पाएका छन् । कोरोनाबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको अवस्थामा अब बैंक तथा वित्तीय संस्थाले असार मसान्तसम्म त्यस्ता ऋणीलाई कालोसूचीमा राख्न पाउने छैनन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । कोभिड– १९ बाट प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेमा आगामी असार मसान्तसम्म कालोसूचीमा पर्ने छैनन् ।

केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामा गरेको नयाँ व्यवस्थाअनुसार एकीकृत निर्देशिका जारी गर्दै उक्त व्यवस्था गरेको छ । कोरोनाबाट प्रभावित ऋणीको हकमा छ महिना वा सोभन्दा कम अवधिको ब्याज बक्यौता रहेको अवस्थामा कालोसूचीमा समावेश गर्ने प्रक्रियाको समयसीमा बढाइएको राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको नयाँ निर्देशिका अनुसार कम्तीमा दुई सय ५० दिनको कारोबार मूल्य नभएका कम्पनीलाई शेयर धितोमा कर्जा नदिने व्यवस्था समेत गरेको छ ।

पछिल्लो तीन वर्ष लगातार नोक्सानीमा रहेका संस्था, व्यावसायिकरुपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका संस्था, विगत तीन वर्षदेखि साधारणसभा नगरेका संस्था र कम्तीमा दुई सय ५० दिनको कारोवार मूल्य नभएका संस्थाको शेयर धितो राखेर कर्जा लिन नपाइने भएको छ ।

प्रयोजन नखुलेका कूल व्यक्तिगत अधिविकर्ष कर्जा अधिकतम प्रतिव्यक्ति ५० लाख रुपैयाँसम्म मात्र प्रवाह गर्न सकिने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।