बैंकका सबै शाखा खोल्न राष्ट्रबैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय संचालनमा ल्याउन निर्देशन दिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशनहरुको पालना गर्दै कार्यालय र सेवा संचालनमा ल्याउन निर्देशन दिएको हो । यस्तो कार्यालयमा भीडभाड नहुने तथा दूरी कायम गरेर सेवा दिनु पर्नेछ । साथै ‘सिफ्ट सिस्टम समेत हटाउनु पर्ने गरी निर्देशन आएको छ ।

अब नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा आठ घण्टा संचालनमा ल्याउनु पर्छ । कोरोना सङ्क्रमण बढेको भन्दै गएको चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि बैंक तथा वित्तीय संस्थाले सीमित सङ्ख्याका शाखा मात्रै केही समयका लागि खोल्दै आएका थिए । तर, सरकारले नेपालमा लकडाउन पूर्ण रुपमा अन्त्य गरेको छ । अब लामो दूरीका यातायात र हवाई सेवाबाहेक अन्य सबै सेवा सूचारु भइसकेको छ ।