काठमाडौं । एनआईसी एसिया बैंकको १६ लाख रुपैयाँ लुटिएको घटनामा कर्मचारीको मिलोमतो पुष्टी भएको छ । कर्मचारीको संलग्नता देखिएपछि प्रहरीले एनआईसी एसिया बैंकको बानेश्वर शाखाका कलेक्टर प्रदीप खत्रीसहित ४ जनालाई पक्राउ गरेको छ । खत्रीको योजना र अन्यको मिलेमतोमा बैंकको पैसा लुटिएको हो । ‘बैंकले ठूलो परिमाणमा पैसा जम्मा गर्ने संस्थाका लागि कलेक्टर राख्ने गर्छ । त्यही भूमिकामा रहेका खत्री आफैंले आफैंलाई लुटाएको प्रहरीले जनाएको छ ।
प्रहरीले अन्यको भूमिकाबारे अनुसन्धान गरिरहेको समेत बताएको छ । प्रहरीले खत्रीसँगै सिन्धुपाल्चोकका विमल तामाङ, रामेछापका शक्तिराज पौडेल, अनिश खड्कालाई पनि पक्राउ गरेको हो । पक्राउ परेकामाथि डाँका चोरीसम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान हुनेछ । महानगरीय प्रहरी वृत्त, बानेश्वरका अनुसार घटना १८ पुसमा भएको थियो ।
कलेक्टर खत्रीले काठमाडौं–१० को वडा कार्यालयबाट १२ लाख ४५ हजार रुपैयाँ र मेटलाइफ इन्स्योरेन्स शान्तिनगरबाट ३ लाख ५० हजार ४२४ रुपैयाँ लिएर बैंकतिर जाँदै थिए । बानेश्वरको युनिग्लोब कलेज अगाडि बैंकको शाखा कार्यालय नजिकै दुई जनाले उनको पैसा लुटेका थिए ।
उनले बैंकमा खबर गरेका थिए । लगत्तै बैंकले प्रहरी वृत्त, बानेश्वरलाई जानकारी गराएको थियो । कलेक्टर खत्रीले बैंक भएकै भवनमा काम गर्ने विमल तामाङसँग मिलेर उनले बैंकको पैसा आफैं लुटाउने योजना बनाएको खुलेको छ ।