काठमाडौं । नेपालमा पर्यटक आगमनको मूख्य स्रोत बजार भारत हो । त्यसपछि दोस्रो स्थानमा चीन रहने गरेको छ । तर, चीनले कोरोना महामारीका बीचमा आफ्ना नागरिकलाई यात्रामा प्रतिवन्ध लगाएको छ । यसले अन्य मुलुकबाट नेपालमा पर्यटक आगमन बढेको छ । मार्च महिनामा भारतपछि अमेरिकाबाट सर्वाधिक संख्यामा पर्यटक आएको तथ्यांकमा देखिएको छ ।
अध्यागमन विभागका अनुसार मार्च २०२१ मा १४ हजार ९ सय ७७ जना पर्यटक नेपाल आए । एक महिनाको अविधिमा भारतबाट मात्र ७६५८ जना पर्यटक नेपाल आएका छन् । यसअघि जनवरी र फेब्रुअरी महिनामा भारतबाट ८७९१ जना पर्यटक नेपाल आएका थिए । भारतपछि अमेरिकाबाट दोस्रो बढी संख्यामा पर्यटक आएका छन् । अमेरिकाबाट मार्च महिनामा मात्र १७०३ जना पर्यटक आएका छन् । तेस्रो स्थानमा चीन रहेको छ ।
चीनबाट १२०७ जना पर्यटक नेपाल आएको तथ्यांकमा उल्लेख छ । चौथो स्थानमा बेलायत रहेको छ । यहाँबाट ६६५ जना नेपाल आएको तथ्यांक छ । यस महिनामा बंगलादेशबाट भने ५६८ जना पर्यटक आएका छन् ।
मार्च महिनामा पछिल्लो एक वर्ष यताकै बढी संख्यामा पर्यटक नेपाल आएका छन् । सरकारले ११ चैत २०७६ देखि लकडाउन सुरु गरेको हो । विभागका अनुसार मार्चमा ११ हजार २ पुरुष, ३ हजार ३ सय ६३ महिला र १२ अन्य लिङ्गी पर्यटक नेपाल आएका छन् । सन् २०२१ को पहिलो तीन महिनामा कुल ३२ हजार ९ सय ९७ जना पर्यटक नेपाल आएका छन् ।
कुन महिनामा कुल कति पर्यटक नेपाल आए ?
जनवरी : ८८७४
फेब्रुअरी : ९१४६
मार्च : १४९७७