नयाँ दिल्ली । भारतले क्रिप्टोकरेन्सी माथी प्रतिवन्ध लगाउने भएको छ ।
भारत सरकारले डिजिटल मुद्राबारे आफ्नो धारणा केही नरम बनाउँछ कि भन्ने अपेक्षाका बिच प्रतिवन्धको तयारी गरिएको भारतीय संचार माध्यमले जनाएका छन् ।
नयाँ नियमअन्तर्गत प्रविधि प्रवर्धनका लागि गरिने केही प्रयोगबाहेक अन्य सबै अवस्थामा निजी क्रिप्टोकरेन्सी प्रतिबन्धित हुने बिबिसीले लेखेको छ । विधेयकको बारेमा घोषणा भएपछि भारतीय बजारमा क्रिप्टोकरेन्सीको मूल्य समेत घटेको छ ।
सरकारले संसद्को हिउँदे अधिवेशनमा ‘क्रिप्टोकरेन्सी एन्ड रेगुलेशन अफ अफिशल डिजिटल करेन्सी’ विधेयक प्रस्तुत गर्न लागेको छ ।
सो कानुनमा केन्द्रीय बैंकले सरकारी डिजिटल मुद्रा विकास गर्न आवश्यक वातावरण निर्माण गर्ने लक्ष्य लिएको बताइएको छ । विधेयकको मस्यौदा जनवरीमै बनेको हो ।
विधेयकको पछिल्लो मस्यौदा सार्वजनिक भने भैसकेको छैन । छिमेकी मुलुक चीनले सेप्टेम्बरमा क्रिप्टोकरेन्सी कारोबारलाई अवैध घोषणा गरेको थियो ।
विधेयकको घोषणापछि केही क्रिप्टोकरेन्सीको मूल्य घटेको छ। भारतीय बजारमा बिटकोइनको मूल्य १३ प्रतिशतले एवं शीवा इनु र डोजकोइनको मूल्य १५ प्रतिशतभन्दा बढीले घटेको छ।