काठमाडौं । नेपाल आउने पर्यटक भ्रमण वर्ष २०२० को पहिलो महिनामै घटेका छन् ।
यसले सरकारको वार्षिक २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य नराम्रोसँग प्रभावित हुने संकेत गरेको छ ।
अझ रोचक तथ्थ्य, चीनबाट आउने पर्यटक कोरोना भाइरसका वावजुत बढेका छन् भने भारतीय पर्यटकको संख्यामा कमी आएको छ ।
अमेरिकाबाट आउने पर्यटकको संख्यामा समेत जनवरीमा कमी आएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार जनवरी २०२० मा कूल ७९ हजार ६ सय ८६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या जनवरी २०१९ को तुलनामा १५८७ अर्थात करीव ४ प्रतिशत कम हो ।
२०१९ को जनवरीमा ८१ हजार २७३ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
तथ्यांक अनुसार जनवरी २०२० मा भारतबाट १६ हजार ८ सय ८२ पर्यटक नेपाल आएका छन्।
सन् २०१९ मा भारतबाट १७ हजार ६ सय ६३ पर्यटक आएका थिए ।
चीनबाट सन् २०१९को जनवरीमा १२ हजार ९ सय १९ पर्यटक आएकोमा सन् २०२० मा भने १३ हजार ३ सय ३ जना पर्यटक आएका छन् ।
अमेरिकाबाट सन् २०१९ जनवरीमा ६ हजार ५९२ जना पर्यटक आएकोमा सन् २०२० जनवरीमा ६३८६ पर्यटक आएका छन् ।
जनवरीमा चिनियाँ पर्यटक बढेपनि आगामी दिनमा भने चिनियाँ पर्यटकको संख्या ह्वात्तै घट्ने छ ।
अर्कोतर्फ चीन हुँदै नेपाल आउने यात्रुलाई समेत अधिक कडाई गरिएका कारण समग्र रुपमा पर्यटक आवागमन कठिन भएको छ ।
यसले नेपालको भ्रमण वर्ष असफल हुने चिन्ता सरोकारवालामा छ ।