मंसिरदेखि लागु हुने गरि विद्युतको नयाँ महसुल सार्वजनिक

काठमाडौं । मंसिरदेखि लागु हुने गरि विद्युत् नियमन आयोगले विद्युत्को नयाँ महसुल दर सार्वजनिक गरेको छ । दरअनुसार पहिलेको भन्दा औसतमा महसुल २.८४ प्रतिशत कम भएको छ । सिँचाइको प्रयोजनमा प्रयोग हुने बिजुली भने अब ४०.६९ प्रतिशत सस्तो भएको छ । मङ्सिर १ देखिको खपतमा नयाँ महसुल लागु हुनेछ । नयाँ महसुल संरचनाअनुसार करिब १९ लाख ८६ हजार ग्राहकले मासिक ३० रुपियाँ तिरेर २० युनिटसम्म बिजुली बाल्न पाउने छन् ।

नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेअनुरूप आयोगले सिङ्गल फेज पाँच एम्पियर जडान गरेका ग्राहकले मासिक २० युनिटसम्म मात्र खपत गरेमा न्यूनतम मासिक शुल्क ३० रुपियाँ मात्र तिर्नुपर्नेछ । इनर्जी शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ तर खपत २० युनिटभन्दा बढी हुनासाथ ३० युनिटसम्म भने मासिक न्यूनतम ५०, इनर्जी शुल्क २० युनिटसम्मको ६० र थप युनिटका लागि प्रतियुनिट छ रुपियाँ ५० पैसा लाग्नेछ । ३१ देखि ५० समूहलाई आठ रुपियाँ तोकिएको छ भने ५१ देखि १०० सम्म नौ रुपियाँ ५० पैसा प्रतियुनिट निर्धारण गरिएको छ।

२० युनिटसम्मको छुट १५ एम्पियर र माथिको क्षमता जडितलाई उपलब्ध नहुने आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले जानकारी दिए । गार्हस्थ्य उपभोक्तालाई लक्षित गर्दै पाँच, १५, ३० र ६० एम्पियर जडित ग्राहकको न्यूनतम महसुल साबिकभन्दा २५ रुपियाँ घटाइएको छ । गार्हस्थ्य उपभोक्ताले इन्डक्सन चुलो प्रयोग गरून् भन्ने हेतुले १५१ देखि २५० युनिटसम्मको विद्युत्मा प्रतियुनिट ५० पैसा घटाएर नौ रुपियाँ ५० पैसा बनाइएको छ ।

त्यस्तै ४०० युनिटभन्दा माथिको खपतमा प्रतियुनिट ११ कायम गरिएको छ । थ्री फेजका ग्राहकले असारदेखि कात्तिकसम्म मौसमी दरअनुरूप सस्तोमा बिजुली पाउने व्यवस्था गराइएको छ । थ्री फेज तल्लो भोल्टेज ग्राहकले वर्षामा प्रतियुनिट १० रुपियाँ ५० पैसा र सुक्खायाममा ११ रुपियाँ ५० पैसा पर्ने व्यवस्था गराइएको छ।