मनसुन शुरु भएपछि मेलम्चीको पानी रोकिने

काठमाडौं । अस्थायी रुपमा काठमाडौंमा आइरहेको मेलम्ची खानेपानी आयोजनाको पानी मनसुन शुरु भएपछि भने रोकिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले वर्षा सुरू हुनुभन्दा पहिले मेलम्चीको पानी ल्याउन रोक्ने भएको छ। दुई साता पहिले अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको भए पनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन नसकिने समितिको भनाई छ ।

राससका अनुसार अहिले दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण भइरहेको छ। गतवर्ष असारको पहिलो दिन नै बाढी र पहिरोले आयोजनामा क्षति पुगेकाले यो वर्ष सतर्क हुनुपर्ने अवस्था रहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। ‘सुरूङभित्रै बाढी नपसोस् भन्ने उद्देश्यले वर्षा सुरू हुनुअगावै बन्द गर्नुपर्ने छ’, उनले भने। काठमाडौं उपत्यकामा पुनः पानी आउन थालेपछि उपत्यकाबासी खुसी भएका छन्।

कतिपय स्थानमा नागरिकले पानी नआएको वा कम आएको गुनासो गरे पनि गत वर्षभन्दा वितरणसम्बन्धी गुनासो कम भएको जनाइएको छ। वर्षाको अवधिभर मेलम्चीको पानी ल्याउन नसकिँदा सुन्दरीजलमा बागमतीको पानी नै प्रशोधन गरेर ल्याउने विषयमा पनि छलफल भइरहेको समितिले जनाएको छ। गत ११ गते खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, बानेश्वर शाखाको कार्यालयमा चाबी खोलेर पुनःवितरण सुरू गरेका थिए।

पहिलो दिन पाँच करोड लिटर पानी वितरण सुरू भएकामा क्रमशः आठ करोड हुँदै १७ करोड लिटर पानी वितरण गर्न थालिएको हो। गत वर्ष फागुनमा पहिलो पटक पानी पथान्तरण सुरू गरिएको थियो। उपत्यकामा तीन महिना पानी वितरण गरेर सुरूङको परीक्षणका लागि असार १ गतेबाट सुरूङ बन्द भएको थियो। सोही दिनमा आएको बाढीले यहाँका हेडवर्कलगायतका विभिन्न संरचनामा क्षति पुगे पनि मुख्य सुरूङमा धेरै क्षति पुगेको थिएन।

असारमा पटक-पटक बाढी आइरहँदा त्यहाँ रहेको निर्माण कम्पनीको संरचनामा समेत क्षति पुगेको थियो। वर्षा सकिएपछि पनि आयोजनास्थलको पहुँच सडक बगेकाले लामो समयसम्म मर्मत हुन सकेको थिएन। सडक अस्थायी मर्मतपछि आयोजना स्थलमा पुगेर त्यहाँका अवरोध हटाइएको थियो।