मन्त्री पद त्यागेका कांग्रेस नेता रिजालले ५० लाख अनुदानमा प्रतिष्ठान स्थापना गर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आफ्ना आमाबुबाको नाममा पुण्यश्री प्रतिष्ठान स्थापना गर्ने भएका छन् । प्रतिष्ठानमा मोरङ क्षेत्र नम्बर २ का नागरिकले स्वास्थ्य उपचारमा प्रयोग गर्न पाउने गरी आफूले ५० लाख रुपैयाँ अनुदान दिने घोषणा उनले बिहीबार गरेका छन् ।

डा. रिजालले यो निर्णय केही पहिला नै गरेको भए पनि कार्यव्यस्तताले सार्वजनिक गर्न नभ्याएको उनले उल्लेख गरेका छन् । कांग्रेस महामन्त्रीमा पराजित भएका उनले बिहीबार नै रक्षामन्त्री पदबाट राजीनामा गरेका थिए । उनी गत निर्वाचनमा मोरङबाट निर्वाचित एक मात्र कांग्रेस नेता हुन् ।