प्रभात भट्टराई / अमेरिका
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिरुद्ध अमेरिकी संसदको तल्लो सदनमा सुरु भएको महाभियोग अनुसन्धान निचोड तर्फ पुग्न लागेको छ । हाउस डेमोक्र्याटहरुले ‘आर्टिकल अफ इम्पिचमेन्ट (महाभियोगका बुँदा)’ तयार गर्न लागेको जनाएका हुन् ।
बिभिन्न चरणको संसदीय सुनुवाइ एवं अनुसन्धान पश्चात डेमोक्र्याटहरु आर्टिकल अफ इम्पिचमेन्ट तयारीको अवस्थामा पुगेका हुन् । सोमबारको संसदको न्यायीक समितिको सुनुवाईमा डेमोक्र्याट र रिपब्लिकनहरुले आ–आफ्ना अनुसन्धानका तर्क पेश गरेका थिए । डेमोक्र्याटहरुले सबै साक्षीहरुको बयान र अनुसन्धानले ट्रम्पले महाभियोग योग्य हर्कत गरेको तर्क गरेका थिए । रिपब्लिकनहरु भने राष्ट्रपति निर्दोष रहेको तर्कमा अडिग छन् ।
सोमबारको पार्टीगत सुनुवाई अघि गत साता समितिले बिभिन्न विश्वविद्यालयका कानून प्राध्यापकहरुसँग परामर्श गरेको थियो । चार जना प्राध्यापकलाई बयानका लागि बोलाइएकोमा तीन जनाले ट्रम्पले महाभियोग लायक काम गरेको बताएका थिए । एक जनाले भने उनलाई महाभियोग लगाउन हतार गर्नुभन्दा थप अनुसन्धान गर्नु पर्ने सुझाव दिएका थिए ।
तर, हाउस डेमोक्र्याटहरु महाभियोगका लागि यथेष्ट प्रमाण जुटि सकेको भन्दै महाभियोगकै निश्कर्षमा पुगेका हुन् । सन् २०२० को चुनावी सिजन नजिक आइ सकेका कारण पनि उनीहरुले थप समय लिने पक्षमा छैनन् । त्यस माथि आईतबार मात्र बिभिन्न विश्वविद्यालयका ५०० जना कानून प्राध्यापकहरुले वासिंटन पोष्टमा सामूहिक लेख लेख्दै ट्रम्पलाई उन्मुक्ति दिन नहुने तर्क गरेका छन् । कानूनविद्हरुको यस्तो समर्थनले डेमोक्र्याटहरुलाई थप बल समेत पुगेको छ ।
आर्टिकल अफ इम्पिचमेन्ट ट्रम्पलाई कुन कुन आरोप लगाइने भन्ने प्रष्ट पारिएको छैन । तर, स्पेशल काउन्सिल बब मुलर अनुसन्धानको निचोड पनि समेटिने अनुमान अमेरिकी मिडियाहरुको छ । मंगलबार बिहान हाउसका बिभिन्न समिति अध्यक्षहरुले संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दैछन् । त्यसमा ट्रमलाई लगाइने अभियोग पनि सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।
हाउस रिपब्लिकनहरु ट्रम्प बचाउमा एकजुट देखिए पनि सिनेटमा महाभियोग कसरी अगाडि बढ्छ भन्ने कुनै प्रष्ट चित्र अहिलेसम्म देखिएको छैन । सिनेटमा रिपब्लिकनहरुको बहुमत छ । त्यसैले उनीहरुले चाहेकै बाटोबाट अनुसन्धान अगाडि बढाउन सक्छन् । तर, धेरैजसो रिपब्लिकन सिनेटरले खुलेर ट्रम्पको बचाउ गरेका छैनन् । रिपब्लिकन पार्टी भित्र ट्रम्पको बलियो प्रभाव रहेको कारण सिनेटरहरुले उनको विरोध नगर्ने तर महाभियोग माथि गोप्य मतदान भएको खण्डमा धेरैको मत पक्षमा पर्ने विश्लेषण समेत भइ रहेको छ ।
ट्रम्पले सुरु देखि दावी गर्दै आएको ‘सन् २०१६ को चुनावमा रसिया नभइ युक्रेनको हस्तक्षेप’ भने सोमबार पुनः एक पटक गलत सावित भएको छ । सोमबार जष्टिस डिपार्टमेन्टका महानिर्देशकको सन् २०१६ मा रसियन संलग्नतामाथिको अनुसन्धान थालनीबारेको रिपोर्ट सार्वजनिक भएको छ । त्यसमा उनले २०१६ को चुनावमा रसियन आक्रमण माथि एफबिआईले थालेको अनुसन्धान कुनै राजनीतिक आग्रह प्रेरित नरहेको र यथार्थतमा आधारित रहेको प्रष्ट पारेका छन् । ट्रम्पले सुरु देखिनै एफबिआईले आफु लक्षित अनुसन्धान गरेको र आफ्ना कुराकानीहरु रेकर्ड गर्न ट्रम्प टावरमा योग्य रेकर्डर जडान गरेको दावी गर्दै आएका थिए । उनको यो ‘कन्स्पिरेसी थ्यौरी’ कतैबाट पनि पुष्टि हुन सकेन । महानिर्देशकले आफ्नो रिपोर्टमा एफबिआईका अधिकारीहरुले काम गर्ने क्रममा भने केही त्रुटी गरेको औँल्याएका छन् ।
रिपोर्ट सार्वजनिक भएपछि पत्रकाहरुसँग ट्रम्पले यो घटनाको आफुले सोचेभन्दा पनि दर्दनाक पटाक्षेप भएको दावी गरेका थिए । उनको दावीलाई समर्थन गर्ने आधार रिपोर्टमा नदेखिए पनि उनले आफ्नो ‘थ्यौरी’ भने नछाडेका हुन् । साथै उनले सन् २०१६ को चुनावमा युक्रेनले हस्तक्षेप गरेका दलिल पनि छोडेका छैनन् । हाउस रिपब्लिकनहरुको एक स्वर त ट्रम्पको साथमा छ नै केही सिनेटरहरुले पनि उनीसँग लोली मिलाएका छन् । टेक्सासका सिनेटर टेड क्रुजले गत सप्ताहन्तमा एक टेलिजिनलाई अन्तर्वार्ता दिँदै रसियासँगै युक्रेनले पनि सन् २०१६ को चुनावमा हस्तक्षेप गरेको दावी गरेका थिए ।
अमेरिकी खुफिया एजेन्सीहरुको चरणबद्ध अनुसन्धानले भने युक्रेनले निर्वाचनमा संस्थागत हस्तक्षेप गरेको कुनै पनि संकेत फेला पार्न सकेका छैनन् । मिडियाहरुका अनुसार रुसी राष्ट्रपटि भ्लादिमिर पुटिनले नै ट्रम्पलाई २०१६ मा युक्रेन सम्लग्न थियो भनेर ‘कन्भिन्स’ गरेका थिए । ट्रम्पले उनैको कुरो पत्याएर गत जुलाईमा युक्रेनका नयाँ राष्ट्रपति भोलोडिमिर जेलेन्सीलाई सन् २०१६ को चुनावमा पूर्ववर्ती सरकारले हस्तक्षेप गरेकोबारे अनुसन्धान थाल्ने सार्वजनिक प्रतिबद्धता जनाउनु पर्ने माग राखेका थिए । साथै पूर्व उपराष्ट्रपति जो बाइडेन माथि पनि अनुसन्धानकोे घोषणा गर्नु पर्ने उनको माग थियो । यी माग पुरानहुन्जेल सम्मका लागि अमेरिकी संसदले युक्रेनका लागि पारित गरेको झन्डै ४०० मिलियन डलरको सैन्य सहायता उनले रोक्का गरि दिएका थिए । ट्रम्प प्रशासनकै कोही अधिकारीले यो तथ्य थाहा पाएर जासूसी संयन्त्रमा गोप्य रिपोर्ट (ह्विसेल ब्लो) गरेपछि ट्रम्प सहायता खुलाउन बाध्य भएका थिए । यो घटना सतहमा आएसँगै डेमोक्र्याटहरुले ट्रम्प माथि महाभियोग अनुसन्धान सुरु गरेका हुन् । उनी माथि व्यक्तिगत र राजनीतिक फाइदाका लागि सार्वजनिक स्रोत र राष्ट्रिय सुरक्षालाई जोखिममा पारेको सबैभन्दा ठूलो आरोप रहेको छ ।