माघदेखि लागू हुने गरी बढ्यो ट्याक्सी भाडा, अब चढ्ने बित्तिकै कति तिर्नुपर्छ ?

काठमाडौं । वाग्मती प्रदेश सरकारले ट्याक्सी भाडा बढाएको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयले मन्त्री स्तरको निर्णयबाट माघ १ देखि लागू हुने गरी काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशभर ट्याक्सी भाडा बढाएको हो ।

प्रदेश सरकारको यो निर्णयसँगैै अब काठमाडौं उपत्यकामा ट्याक्सीको न्यूनतम् भाडा ६० रुपैयाँ कायम भएको छ । यात्रुले ट्याक्सी चढेकोे पहिलो एक किलोमिटरसम्मको यात्राको सुरु फ्लाग डाउन ६० रुपैयाँ हुनेछ । त्यसपछि प्रत्येक २०० मिटरको यात्रापछि ९ रुपैयाँ ८० पैसाका दरले भाडा थप हुने परिमार्जित भाडा दरमा उल्लेख छ ।

उक्त परिमार्जित भाडादर आगामी माघ १ देखि लागू हुने जनाइएको छ । साथै,उक्त निर्णयअनुसार ट्याक्सीहरुले अब पूर्ण रुपमा मिटर प्रयोग गर्नुपर्नेछ । हाल ट्याक्सी सेवा प्रदायकहरु मिटरमा जान नमानेको जनगुनासो आउने गरेको छ ।