मिट रोम्नीको बिद्रोह बाबजूद महाभियोगबाट उन्मुक्ति पाए ट्रम्पले, तर जनताले पनि देलान् छुट ?

प्रभात भट्टराई / अमेरिका
तीन महिना अघि अमेरिकी संसदको तल्लो सदन (हाउस)मा सुरु भएको महाभियोग ‘ड्रामा’ बुधबार अन्त्य भएको छ । हाउसबाट बहुमतले पारित भएको राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव उपर बुधबार माथिल्लो सदन सिनेटमा मतदान भएको हो ।

रिपब्लिकनहरु ट्रम्पलाई जोगाउन प्रतिबद्ध देखिएका कारण महाभियोग प्रस्ताव पारित नहुने निश्चित प्राय भइ सकेको थियो । त्यती हुँदा पनि रिपब्लिकन सिनेटर मिट रोम्नीले महाभियोगको पहिलो बुँदाको पक्षमा मतदान गरे । यसरी ट्रम्पलाई पदबाट हटाउने पक्षको एक्लो रिपब्लिकन सिनेटरको रुपमा उनी देखिए । बाँकी रिपब्लिकन सिनेटरले भने राष्ट्रपतिको चुनाव आउन १० महिना मात्र बाँकी रहेको कारण अब जनतालाई नै अन्तिम फैसला गर्न दिनु पर्ने भन्दै बिषयान्तरको प्रयास गरेका छन् । सोही कारण उनीहरुले ट्रम्पले युक्रेन प्रकरण गल्ती गरेको नगरेको केही बताउनु भन्दा जनताको हातमा फैसला जिम्मा लगाउने भन्दै टारी रहेका थिए । यतिसम्मकी हाउसबाट सिनेटमा महाभियोग प्रस्ताव पुगि सकेपछि थप प्रमाण बाहिरिए पनि अनुसन्धानलाई अघि बढाउन उनीहरु तयार भएनन् ।

डेमोक्र्याटहरुले थप साक्षी बोलाएर अनुसन्धान गर्नु पर्ने माग राखेका थिए । तर, त्यसका लागि दुई रिपब्लिकन सिनेटर मात्र तयार भए । मिट रोम्नी र सुसन कोलिन्सको मतले मात्र थप साक्षी बोलाउन बहुमत पुगेन । थप दुई रिपब्लिकन सिनेटर अनुसन्धानको पक्षमा उभिएका भए साक्षी निम्त्याउन बहुमत पुग्ने थियो ।

ट्रम्पका पुर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आफुसँग थप प्रमाण रहेको र यसबारे सिनेटलाई जानकारी दिन तयार रहेको बताउँदा पनि रिपब्लिकन सिनेटरहरुले तथ्य सुन्न चाहेनन् । सर्भेक्षणहरुले ७५ प्रतिशत अमेरिकी थप साक्षी बोलाइनु पर्ने पक्षमा रहेको देखाएका थिए । तर, त्यती हुँदा पनि हतार हतार यो प्रकरण टुङ्ग्याउन सिनेटर रिपब्लिकन नेता मिच म्याकोनेल र उनका सहकर्मीले चाहे । बुधबारको मतदान मार्फत हाउसबाट पारित ट्रम्पको महभियोगलाई असफल तुल्याउन रिपब्लिकनहरु सफल भए ।

सिनेटबाट महाभियोग पारित हुन ६७ मत आवश्यक पर्छ । तर, ४५ डेमोक्र्याट, दुई स्वतन्त्र र एक रिपब्लिकन गरि ४८ जना सिनेटर मात्र उनलाई पदमुक्त गर्ने पक्षमा उभिए । तर, हाउसबाट महाभियोग खेपेको तेस्रो अमेरिकी राष्ट्रपतिको रुपमा भने इतिहासमा उनको नाम दर्ज भइ सकेको छ ।

ट्रम्पले पदमुक्तिको जोखिमबाट उन्मुक्ति पाए पनि राजनीतिक फाइदाका लागि विदेशीलाई दबाब दिएको प्रश्नबाट भाग्न पाउने छैनन् । उनका सल्लाहकार बोल्टनले ट्रम्पले युक्रेनलाई पूर्व उपराष्ट्रपति जो बाइडेन माथि अनुसन्धानका लागि दबाब दिएको तथ्य आफुलाई ज्ञान रहेको बताइ सकेका छन् । यस सम्बन्धि उनको किताब पनि छिटै प्रकाशन हुँदैछ । त्यति मात्र होइन ट्रम्पका निजी वकिल रुडि जुलियानीका सहयोगी लेभ पार्नासले पनि आफुले ट्रम्पकै लागि बाइडेन माथि अनुसन्धानको माग राख्दै युक्रेनमा लविङ गरेको सार्वजनिक रुपमा बताइसकेका छन् ।

फाईल फोटो

त्यसैले अब १० महिना पनि बाँकी नरहेको चुनावमा ट्रम्पले यो प्रकरणमा आफ्नो स्वार्थबारे आउने प्रश्नलाई पन्छाउन सक्ने छैनन् । ट्रम्प बाचाल छन् र झुठ बोल्न पनि उत्तिकै माहिर छन् । त्यसैले उनले युक्रेन प्रकरणलाई बहानाहरु जोडेर किनारा लगाउन भरमार प्रयास गर्नेछन् । तर, उनी स्वयं सत्तामा रहेको र जवाफ दिनु पर्ने भुमिकामा भएको कारण यस पटक उनी २०१६ जस्तो एकोहोरो धारे हात लगाउने भुमिकामा भने हुने छैनन् । त्यति मात्र होइन बोल्टनको किताब चुनावकै नजिक पारेर प्रकाशन हुँदैछ भने पार्नासको पेशी पनि चुनावकै मुखमा तोकिएको छ । यी दुबै प्रकरणले उनलाई फाइदा पुग्दैन । त्यति मात्र होइन बोल्टनलाई हाउसले निम्त्याएर ट्रम्पको भूमिका बारे थप प्रश्न पनि गर्न सक्नेछ । साथै अमेरिकी सर्बोच्च अदालतले उनले आफ्नो आयकर विवरण सार्वजनिक गर्नु पर्ने नपर्नेबारे जुनमा फैसला सुनाउने बताएको छ । यदि यो फैसला उनको प्रतिकुल आइ दियो भने थप चुनौती झेल्नु पर्ने हुन्छ ।

अहिले पनि प्राय सबै सर्बेक्षणहरुमा ५० प्रतिशत बढि अमेरिकीले युक्रेन प्रकरणमा ट्रम्पले आफ्नो पदको दुरुपयोग गरेको बताउँदै आएका छन् । चुनावमा यहि धारण प्रतिबिम्बित भयो भने ट्रम्पलाई कठिन पर्नेछ । आम लोकप्रियता ५० प्रतिशत समर्थनको सीमा कहिल्यै छुन नसके पनि ट्रम्प निर्वाचित भएयता अमेरिकी अर्थतन्त्रले राम्रो गति लिएको छ । सन् २०११ यता सम्हालिएको अर्थतन्त्र अहिलेसम्म सबल अवस्थामा छ । त्यसैले ट्रम्पले अर्थतन्त्रलाई भजाएर २०२० को चुनाव लड्ने रणनीति बनाएका छन् । त्यसबाहेक विपक्षिलाई अनेक नाम दिने देखि व्यक्तिगत गाली गलौजमै उत्रिने उनको स्वाभाविक शैली त भइ नै हाल्यो । सबल अर्थतन्त्र र रिपब्लिकन पार्टी भित्रको बलियो होल्डका कारण उनलाई ३५ प्रतिशत हाराहारी अमेरिकीको अन्ध समर्थननै रहेको छ । तर, त्यो नै चुनाव जित्न भने काफी हुँदैन । त्यसैले अहिले सिनेटका रिपब्लिकनहरुले अनेक कल छल गरेर जोगाए पनि उनी विवेकी मतदाताका माझ यही शैलीमा जोगिने सम्भावना भने कम हुन्छ ।