मेक्सिकन लागु औषध ‘बादशाह’ एल चापोलाई आजिवन जेल, १३ खर्ब जरिवाना

न्यूयोर्क
मेक्सिकन लागु औषध बादशाह जोसिन ‘एल चापो’लाई अमेरिकी अदालतले आजिवन सहित थप ३० बर्षको काराबासको सजाय सुनाएको छ । साथै उनले १२ अर्ब ६० करोड अमेरिकी डलर (१३ खर्ब रुपैयाँ बढी) जरिवाना समेत तिर्नु पर्ने भएको छ ।

उनी कोलोराडो स्थित सुपरम्याक्स जेल चलान भएका छन् । बुधबार फैसला सुनाइँदा उनी पनि अदालत उपस्थित थिए । ग्रे रङको सुट र कालो टाइ लगाएका एल चापोलाई फैसला सुनाउनु अघि आफ्नो भनाइ राख्न समय दिइएको थियो । ‘यहाँ न्याय पाइँदैन’ उनले स्पेनिश भाषामा भनेका थिए ।

अत्यन्त ठूलो लागु औषध सञ्जाल विस्तार गरेका एल चापा दुई पटक मेक्सिकन जेलबाट फरार हुन सफल भएका थिए । पछिल्लो पटक न्यूयोर्कमा पक्राउ परेका उनले हिरासतको अवस्थालाई पनि आलोचना गरेका थिए ।

‘यहाँ निरन्तर मानसिक तनाव झेल्नुपर्यो, यो मैले आफुले जीवनमा भोगेकामध्ये सबैभन्दा अमानवीय समय रह्यो’ उनले अदालतमा भनेका थिए । ६२ बर्षिय एलचापोको सुनुवाई गत फेब्रुअरीमै सम्पन्न भएको थियो । उनलाई अदालतले आपराधिक व्यवसाय, लागुऔषध कारोवार, हातहतियार लगायतका १० काउन्टमा दोषी ठहर गरेको थियो । उनलाई सरकारी वकिलहरुले ‘एक निर्दयी रक्तपिपासु’को संज्ञा दिएका थिए । साक्षीहरुका अनुसार उनले आफ्नो लागु औषध साम्राज्यमा तगारो बन्न खोज्नेलाई क्रुर यातना दिँदै हत्या गर्ने गरेका थिए ।

अमेरिका र मेक्सिकोका अधिकारीहरुलाई झुक्याउँदै आफ्नो साम्राज्य विस्तार गरि रहेका उनी साढे दुई बर्ष अघि पक्राउ परेका थिए । मेक्सिकोमा जेल तोडेर भागेको नजिरलाई ध्यान दिएर नै अमेरिकाको सबैभन्दा सुरक्षित मानिने कोलोराडो जेलमा उनलाई राख्न लागिएको हो । चापो पक्राउको घटनालाई अमेरिकी अधिकारीहरुले अपराध गरेर सधैँभरि लुक्न कसैलाई पनि संभव नहुने बताएका छन् । चापाे अमेरिका मात्र हाेइन विश्वकै एक कुख्यात लागु औषध काराेवारीमा पर्छन् ।