न्यूयोर्क
इन्डियानाको साउथबेन्ड सिटीका पूर्व मेयर पिट बुट्टिजजले राष्ट्रपतिय होड त्यागेका छन् । आईवा ककस र न्यू ह्यामसर प्राइमरीमा उत्साहजनक प्रदर्शन गरे पनि त्यसको प्रभाव बाँकी राज्यमा नदेखिएपछि उनले होडबाट बाहिरिने निधो गरेका हुन् ।
एउटा सानो सहरको मेयरबाट राष्ट्रपतिय होडमा जबरबस्त उपस्थिती देखाउने उनी पहिलो ब्यक्ति हुन् । सन् २०१९ को पहिलो त्रैमासिकमा ७० लाख डलर चन्दा संकलन गर्न सफल भएपछि उनी राष्ट्रिय मिडियाको नजरमा परेका थिए । त्यसयता लगातार उत्साहजनक प्रगती हासिल गरेका उनले प्रतिश्पर्धामा रहेको कैयन् सिनेटर लगायत स्थापित डेमोक्रेटिक नेतालाई पाखा लगाएका थिए ।
अप्रत्याशित रुपमा सन् २०२० को राष्ट्रपतिय क्यालेन्डरको पहिलो प्राइमरी आईवा ककस जितेपछि उनले बाँकी राज्यमा पनि राम्रो गर्दै जाने अपेक्षा गरिएको थियो । त्यस अनुरुप उनले दोस्रो प्राइमरी चुनाव भएको न्यू ह्यामसरमा पनि बर्नि स्यान्डर्सलाई कडा टक्कर दिए । करिब ३८ सय मतले बर्नीसँग पराजित भए पनि न्यू ह्यामसरमा उनीहरु दुई जनाले समान ९÷९ जना डेलिगेट्स पाएका थिए ।
तर, त्यसपछिको नेभादा ककसमा भने उनी तेस्रो हुन पुगे । करिब १५ प्रतिशत मत पाएका उनले तीन जना मात्र डेलिगेट्स पाए भने शनिबार सम्पन्न साउथ क्यारोलिना प्राइमरीमा आठ प्रतिशत मत सहित चौथो भए । मंगलरबार एकै पटक १४ राज्यमा सुपर ट्युजडे प्राइमरी हुँदैछ । ती कुनै पनि राज्यमा पिटले जित निकाल्ने संभावना सर्भेक्षणहरुले देखाएका थिएनन् । सोही कारण उनले आज उम्मेद्वारी टुङ्ग्याउने निर्णय गरेका हुन् ।
उनी क्याम्पेनमा सिनेटर बर्नी स्यान्डर्स प्रति आलोचनात्मक रहँदै आएका थिए । त्यसैले उनको बहिर्गमनको फाइदा पूर्व उपराष्ट्रपति जो बाइडेनलाई पुग्ने आँकलन गरिएको छ । सुरुका तीन प्राइमरीमा फिक्का रहेका बाइडेन शनिबार साउथ क्यारोलिनाको सुपर जितसँगै फेरि बलियो उम्मेद्वारका रुपमा फर्किएका छन् । साउथ क्यारोलिनामा बाइडेन दोस्रो स्थानका स्यान्डर्स भन्दा झन्डै ३० प्रतिशत बिन्दुले अघि रहेका थिए । यसले काला जातीका मतदातामा उनको लोकप्रियता उच्च देखाएको छ । त्यसमाथि पिटका मतदाता थपिँदा उनलाई अझ सहज हुने आँकलन सुरु भएको छ ।
राष्ट्रपतिय होडमा यति ठूलो तहल्का मच्चाउने पिट पहिलो समलिंगी उम्मेद्वार समेत हुन् । ३८ बर्षिय उनलाई आगामी निर्वाचनमा डेमोक्र्याटले जिते मन्त्रीपरिषद्मै महत्वपुर्ण जिम्मेवारी दिने आँकलन समेत सुरु भएको छ ।