मौद्रिक नीतिको कार्यान्वयन शुरु, राष्ट्र बैंकले जारी गर्यो निर्देशन

काठमाडौं । मौद्रिक नीतिमा उल्लेख नीतिहरुको कार्यान्वयन शुरु गर्न नेपाल राष्ट्र बैंकले सोमबार विभिन्न प्रकारका निर्देशन जारी गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरिएका व्यवस्था कार्यान्वयन गर्न त्यस्ता निर्देशनहरु जारी गरेको हो । बैंकको ऋण तिर्ने समय पर सार्ने देखि विभिन्न प्रकारका व्यवसाय संचालन गर्न लिन सकिने सहुलियतपूर्ण ऋणको समेत व्यवस्था गरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७६ पुस मसान्तमा असल वर्गमा वर्गीकरण भएका र २०७६ पुस मसान्तपछि प्रवाह भएका कर्जालाई २०७७ असार मसान्तसम्म असल वर्गमा वर्गीकरण गर्न छुट दिइएको छ । कोभिड १९ का कारण विगतमा कायम गरिएको ग्रेस अवधिभित्र उद्योग वा परियोजना निर्माण सम्पन्न तथा सञ्चालन हुन नसकेको अवस्थामा निर्माण सम्पन्न हुन, सञ्चालनमा आउन लाग्ने थप समय यकिन गरी ग्राहकको अनुरोधमा बैक वित्तीय संस्थाले एक पटकका लागि २०७७ असोज मसान्तसम्म ग्रेस अवधि थप्न सक्ने भएका छन् । यो प्रावधान शर्तसहित आएको छ ।

कोभिड १९ बाट अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई एक बर्ष, मध्यम प्रवाहितलाई ९ महिना तथा न्यून प्रवाहितलाई ६ महिनाको समय थपन गर्न सकिने सुविधा दिइएको छ । सम्बन्धित निकायबाट स्वीकृतिप्राप्त पर्यटकस्तरीय होटलको हकमा अधिकतम २ बर्षसम्मका लागि ग्रेस अवधि थप गर्न सकिने भएको छ। यसबाट नेपाल राष्ट्र बैंकले होटेल क्षेत्रलाई अति प्रभावित क्षेत्रका रुपमा परिभाषित गरिएको छ ।

कोभिड १९ बाट अति प्रभावित क्षेत्रमा प्रदान गरिएको कर्जामा ऋणीको परियोजना वा व्यवसायमा परेको प्रभाव तथा वित्तीय अवस्थाको मूल्याङ्कन गरी ऋणीको लिखित कार्ययोजना हेरेर निकट भविस्यमा उद्योग सञ्चालनमा ल्याई ऋण चुक्ता हुन सक्ने विषयमा बैंक वित्तीय संस्था आश्वस्त भए पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सक्ने गरी सुविधा प्रदान गरिएको छ ।