काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । बजार खुलेदेखि लगातार ओरालो लागेको नेप्से ८० अंकले घटेर बन्द भएको हो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामा पनि सेयर धितो कर्जाको सीमा यथावत राखेपछि लगानीकर्ता निरुत्साहित हुँदा बजारमा ठूलो गिरावट आएको हो ।
लगानीकर्ताले मौद्रिक नीति समीक्षामा यसअघि व्यवस्था गरिएको एक व्यक्तिले एउटा बैंकबाट ४ करोड र समग्र बैंकिङ प्रणालीबाट १२ करोडभन्दा बढी ऋण लिन नपाउने व्यवस्था राखेज गर्ने अपेक्षा गरे पनि राष्ट्र बैंक्ले कुनै परिवर्तन नगरेपछि लगानीकर्ता निराश भएका हुन् ।
सेयर बजार मापक सूचक नेप्से ८०.२९ अंकले घटेर २६५१.४९ विन्दुमा आइपुगेको छ । आइतबार २३४ कम्पनीको ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँ बराबरको १ करोड १९ लाख ३ हजार २०२ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सबैभन्दा धेरै ५.३७ प्रतिशतले घटेको छ । यस्तै, विकास बैंक समूह पनि ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
कारोबारमा आएका २३४ कम्पनीमध्ये १२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको मूल्य घटेको छ । १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ३० करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, नेपाल पुनर्बीमा कम्पनी २३ करोड र नेशनल हाइड्रोपावर २२ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।
उच्च अंकले घटेको बजारमा पनि आज आइसीएफसी फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा आज हिमालयन पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ८.४९ प्रतिशत गुमाएका छन् । यसैगरी, महालक्ष्मी विकास बैंक ८.०९, प्राइम लाइफ, महालक्ष्मी विकास बैंक, जोशी हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, ङादी पावर र नेशनल हाइड्रोपावरको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरै घटेको छ ।
यस्तै, ग्रीनलाइफ, दिव्यश्वरी, हिमालयन इन्स्योरेन्ससहित आधा दर्जन कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।