युक्रेनका लागि साढे ८ हजार सैनिक एलर्ट अवस्थामा छन् : अमेरिका

Photo : ABC NEWS

वासिंटन । युक्रेनमाथि रुसले हमला गर्नसक्ने खबरका बीच करिब साढे आठ हजार अमेरिकी सैनिक छोटो सूचनामै जहाँ पनि जानसक्नेगरी उच्च सतर्क अवस्थामा रहेको पेन्टागनले जनाएको छ । बीबीसीका अनुसार रुसले भने युक्रेनमाथि हमला गरेर कब्जा गर्ने आफ्नो मनसाय नभएको बताउँदै आएको छ। पछिल्ला महिनाहरूमा रुसले युक्रेन नजिक ठूलो सङ्ख्यामा सैनिकहरूको उपस्थिति बढाएपछि त्यहाँ जुनसुकै बेला युद्ध हुनसक्ने चिन्ताहरू व्यक्त भइरहेका छन्।


युक्रेन मामिलालाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले सोमवार आफ्ना युरोपेली साझेदारसँग भिडियो कलमार्फत कुराकानी गरेका छन्। उनीहरूले रुसविरुद्ध सामूहिक रणनीति अपनाउनेबारे छलफल गरेको बताइएको छ। पेन्टागनले सैनिकहरू तयारी अवस्थामा रहेका भए तापनि उनीहरूको तैनाथीबारे हालसम्म निर्णय भइनसकेको जनाएको छ।

पेन्टानगनका प्रवक्ता जोन कर्बीले यदि नेटोले र्‍यापिड एक्सन फोर्सुलाई परिचालन गर्ने वा रुसी सैनिकहरूको उपस्थिति रहेको क्षेत्रमा कुनै नयाँ अवस्था उत्पन्न भएमा मात्र तयारी अवस्थामा रहेका सैनिकहरू त्यस क्षेत्रमा पठाइने जानकारी दिएका छन्। उनले युक्रेनमै अमेरिकी सैनिक तैथान गर्ने कुनै योजना भने नभएको बताए।

नेटोका केही सदस्य राष्ट्रहरू डेनमार्क, स्पेन, फ्रान्स र द नेदरल्यान्डस्‌ले पूर्वी युरोपमा सुरक्षा बढाउनका लागि युद्धपोत र लडाकु जहाज पठाउनेबारे विचार गरिरहेको यसअघि नै बताइसकेका छन्। नेटोका महासचिव जेनेरल येन्स स्टोल्टेन्सबर्गले युक्रेनमा हमला गरिए रुसले त्यसको महँगो मूल्य चुकाउनुपर्ने बताएका छन्।