युक्रेन मामिलामा अमेरिका-रुस टकराव बढ्यो, बाइडेनको कडा चेतावनी

REUTERS\BBC

वासिंटन डिसी । युक्रेनमा रुसले आक्रमण गर्नसक्ने त्रास फैलिरहेको बेला त्यसको कडा प्रतिक्रिया जनाउने तयारी गरिएको अमेरिकाले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति र उनका रुसी समकक्षीबीच भएको भिडिओ वार्तापछि वासिङ्टनले त्यसो भनेको बीबीसीले जनाएको छ । भिडिओ वार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी सैन्य उपस्थिति बढाइएको विषयबारे चिन्ता व्यक्त गरेका थिए ।

उनले बलियो आर्थिक तथा अन्य प्रतिक्रियाको धम्की दिएको वासिङ्टनले जनाएको छ। पछिल्लो समय युक्रेनसँगको सीमा नजिकै रुसले सैन्य उपस्थिति बढाएको छ। छलफलमा रुसले युक्रेनलाई आक्रमण नगर्ने जनाएको समेत समाचारमा उल्लेख छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसनजिक हतियार तैनाथ नगर्ने र पूर्वतर्फ उत्तर एटलान्टिक सन्धि संगठन नेटोको विस्तार नगरिने विषयमा प्रत्याभूतिको माग गरेका थिए। रुसी समाचार संस्था टासका अनुसार विगतमा स्थापना गरिए पनि प्रयोग भने नगरिएको एक सुरक्षित भिडिओ लिङ्कमार्फत् बाइडन र पुटिनबीच कुराकानी भएको छ ।