राजिनामा दिएका डा. युवराज खतिवडा मन्त्रीसरह सल्लाहकारमा नियुक्त

काठमाडौं । अर्थमन्त्रीबाट राजिनामा दिएका डा. युवराज खतिवडालाई सरकारले विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ । कानूनी प्रावधानका कारण मन्त्री बन्न नपाउने अवस्था आएसँगै उनले राजिनामा गरेका थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मन्त्री सरहकै सेवा सुविधा दिने गरी विशेष आर्थिक सल्लाहकार बनाएको हो ।

सरकारले यो पद आफै सिर्जना गरेको छ । किनकी यसअघि यस्तो पदमा व्यक्तिलाई राख्ने गरिएको थिएन । राष्ट्रियसभा सदस्य बनेर अर्थमन्त्री भएका खतिवडाले कार्यकाल सकिएपछि यही भदौ १९ मा राजिनामा गरेका थिए ।

प्रधानमन्त्री ओलीका प्रिय पात्र उनी अब पनि अर्थ मन्त्रालयको छाँया मन्त्रीकै रुपमा रहने देखिएको छ । किनकी अर्थ मन्त्रालयमा ओलीले कसैलाई पनि जिममेवारी नदिएर आफैले राखेका छन् । यसको मतलव अर्थका फाइल अब खतिवडाले नै तयार पार्नेछन् ।