काठमाडौं । रानीपोखरी पुनर्निर्माणमा काम ९० प्रतिशत कार्यप्रगति हाँसिल भएको छ । गत वैशाखमै काम सक्नुपर्ने लक्ष्य राखिएको भएपनि कोरोना भाइरसको महाकारीका कारण का प्रभावित भएपछि केही ढिलाई भएको हो । अब भौतिक संरचनातर्फको अधिकांश काम सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार पुनर्निर्माणको काम अन्तर्गत अहिले बालगोपालेश्वर मन्दिरको गजुरको काम भइरहेको छ । अहिले ३२ जना कामदारले काम गरिरहेका छन् । असोजसम्म निर्माणकार्य सक्ने गरी काम भैरहेको प्राधिकरणका सम्पदा विज्ञ एवं रानीपोखरीको काम हेर्दै आएका राजुमान मानन्धरले जानकारी दिए । उनका अनुसार तिहारमा यो मन्दिर खोल्ने लक्ष्यका साथ काम भइरहेको छ ।
लकडाउनअघि ६० जना कामदारले दैनिक रुपमा काम गरिरहेका थिए । पोखरी निर्माणको काम भने साउन दोस्रो साता मै पुरा भएको थियो । अहिले पानी भर्ने का जारी रहेको छ । अहिले पोखरीमा आकासको पानी मात्र राखिएको छ ।
दरबार हाइस्कुल र त्रिचन्द्र कलेजबाट आकाशको पानी सङ्कलन गरी पोखरीमा राखिएको छ । पोखरी भर्न आवश्यक पर्ने पानी कहाँबाट ल्याउने भन्ने टुंगो भने भइसकेको छैन । बोरिङ्मार्फत पानी ल्याउने भनिएकोमा त्यसमा स्थानीयले विरोध गरिरहेका छन् ।