काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा युवा अर्थशास्त्री डा. विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा. पौडेललाई उपाध्यक्ष पदमा नियुक्त गरेको हो बैठकले आयोगको सदस्यमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बू नियुक्त भएका छन् । पौडेल कांग्रेस निकट हुन् । फुयाँल र लिम्बू भने माओवादी केन्द्रको सिफारिसमा आयोगमा सदस्य बनेका छन् । फुयाँल र लिम्बूलाई नेकपा विभाजन भएपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएका थिए ।
डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष भएका बेला आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका पौडेलले अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट विद्यावारिधि गरेका हुन् । उनको नियुक्तप्रति अर्थविद्हरुले भने स्वागत गरेका छन् । अर्थविद् रामेश्वर खनाल, पूर्वअर्थसचिव शान्तराज सुवेदीसहितका विज्ञहरुले उपयुक्त स्थानमा सहि पात्र छानेको भन्दै सरकारको प्रशंसा गरेका छन् ।