काठमाडौं । रुस-युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढेको छ । रुसले गत साता युक्रेनमा आक्रमण गरेयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढ्दै ८ वर्षयताकै उच्च बिन्दुमा पुगेको हो।
एकसातामै क्रुड आयलको मूल्य प्रतिब्यारेल झन्डै १५ डलरले बढेर १०८.७७ पुगेको छ । यो पछिल्लो ८ वर्ष यताकै उच्च हो । यसअघि सन् २०१४ को सेप्टेम्बरमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल १०९ डलर पुगेको थियो ।
विश्वकै दोस्रो ठूलो तेल उत्पादक रसियालाई अमेरिका, युरोपेली युनियन लगायतले नाकाबन्दी लगाएपछि आपूर्ति अवरुद्ध हुँदा तेलको मूल्य बढेको हो ।
साथै, रुस युक्रेन युद्ध सुरु भएपछि अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्यहरुले आपतकालीन पण्डारबाट ६० मिलियन ब्यारल तेल छोड्ने सहमति भएसँगै मूल्य बढ्न पुगेको बताइएको छ । संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अन्य ३० सदस्य मुलुकहरुले विश्वव्यापी ऊर्जा बजार स्थिर गर्न तेल जारी गर्न सहमति जनाएका थिए।
यस्तै, रुस युक्रेन बीच युद्ध चर्किने देखिएपछि ठूला लगानीकर्ताहरुले सुरक्षित लगानीका रुपमा तेलमा लगानी गर्न थाल्दा मूल्य आकाशिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।ठूला लगानीकर्ताहरु सुरक्षित लगानीका क्षेत्रहरु तेल, सुन, डलरमा लगानी गर्न थालेको बताइएको छ । जसले सुनको भाउ एक वर्षयताकै उच्च बिन्दुमा पुगेको छ
अन्तर्राष्ट्रिय बजारमै तेलको मूल्य बढेपछि त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ । नेपालमा शतप्रतिशत तेल विदेशबाटै आयात हुने भएकाले अन्तर्राष्ट्रिय बजारको प्रभाव यहाँ पनि पर्ने देखिन्छ ।
यसैपनि नेपालमा पछिल्लो ६ महिना यता लगातार तेलको मूल्य भाउ बढाउँदै आइएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको भाउ बढेपछि नेपालमा पनि बढ्ने देखिन्छ ।
यसैबीच, मंगलबार मात्रै इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढेको पत्र पठाइसकेको छ । सोही अनुसार निगमले अब इन्धनको भाउ बढाउन सक्ने जनाइएको छ ।